०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र १४, २०७८

सप्तरी – कफी पिउँदा हानी गर्छ कि भन्ने सर्वसाधारण र केही डाक्टरहरूबिचमै चिन्ता देखिन्छ। तर, त्यस विपरीत कफी पिउनाले मुटुको समस्या निम्त्याउनुको सट्टा वास्तवमा मुटुलाई बचाउन सक्ने एक अध्ययनले देखाएको छ।

गत बिहीवार प्रकाशित तीन अनुसन्धान एब्स्ट्र्याक्टहरुका अनुसार दैनिक दुईदेखि तीन कप कफी पिउनाले हृदय रोग, हृदयघात वा मुटुको धड्कनको समस्या अथवा कुनै पनि कारणले चाँडै मृत्यु हुने जोखिम १० देखि १५ प्रतिशतले कम हुन्छ।

‘कफीले मुटुको धड्कनलाई बढाउने हुनाले पनि कतिपय मानिसहरू यो पिउनाले मुटुका केही समस्याहरू निम्तिन सक्ने चिन्ता व्यक्त गर्छन्। यसैकारण नै कफी नपिउन सामान्य चिकित्सा सल्लाह पनि दिने गरिन्छ,’ अध्ययनका वरिष्ठ लेखक डा पिटर एम किस्लरले एक विज्ञप्तिमा भने।

किस्लर बेकर हार्ट एण्ड डायबिटिज इन्स्टिच्युटमा क्लिनिकल इलेक्ट्रोफिजियोलोजी अनुसन्धानका प्रमुख तथा अष्ट्रेलियाको मेलबर्नस्थित अल्फ्रेड अस्पतालमा इलेक्ट्रोफिजियोलोजीका प्रमुखसमेत हुन्।

‘अध्ययनबाट हामीले यो कुरा पायौँ कि कफी पिउनुको या त तटस्थ प्रभाव हुन्छ अर्थात यसले कुनै हानि गर्दैन, या त यसले मुटुको स्वास्थ्यमा फाइदा पुर्‍याउँछ,’ एक प्रमुख एरिथमिया एक्सपर्ट तथा मेलबर्न विश्वविद्यालय र मोनाश विश्वविद्यालयका मेडिसिन प्राध्यापकसमेत रहेका किस्लरले भने।

सबै अध्ययनहरूको लागि किस्लर र अन्य अनुसन्धानकर्ताहरूले ‘यूके बायोबैंक’को डाटा प्रयोग गरेका हुन्। ‘यूके बायोबैंक’ले कम्तिमा १० वर्षदेखि ५ लाखभन्दा बढी मानिसहरूको स्वास्थ्य अवस्थाहरुको अभिलेख राखिरहेको छ।

‘यूके बायोबैंक’को लागि रजिस्ट्रीमा सामेल हुँदा सहभागीहरूले उनीहरूले दैनिक एक कपदेखि छ कप वा सोभन्दा बढीसम्म कफी पिउने गरेको बताएका थिए। हालको अनुसन्धानका लेखकहरूले कफी पिउने र मुटुको धड्कनसम्बन्धि समस्याहरू (एरिथमिया) बिचको सम्बन्धको जाँच गर्न चाहन्थे।

पहिलो अध्ययन हृदय रोग नभएका ३ लाख ८२ हजार ५०० भन्दा बढी वयस्कहरूमा केन्द्रित थियो। सो समूहको औसत उमेर ५७ वर्ष थियो। प्रतिदिन दुईदेखि तीन कप कफी पिउने सहभागीहरूमा पछि मुटुसम्बन्धि समस्याहरू देखिने सम्भावना कम पाइएको अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्। त्यस्तै, प्रति दिन एक कप कफी पिउने मानिसहरूमा हृदयघात वा हृदय रोगबाट मृत्यु हुने जोखिम कम पाइएको थियो।

अर्को अध्ययनमा विभिन्न प्रकारका कफीहरु (जस्तै क्याफिनेटेड ग्राउन्ड, क्याफिनेटेड इन्स्ट्यान्ट र डिक्याफिनेटेड) र स्वास्थ्य परिणामहरूबिचको सम्बन्धबारे हेरिएको थियो। डेक्याफ कफी ग्राउन्ड थियो वा इन्स्ट्यान्ट थियो भन्नेबारे स्पष्ट नभएको किस्टलरले इमेलमार्फत सीएनएनलाई भनेका छन्।

‘कम महँगो ‘इन्स्ट्यान्ट’ कफी शुद्ध मानिने ‘ग्राउन्ड’ कफीभन्दा कम फाइदाजनक हुन सक्छ भन्ने मान्यता थियो। तर, हाम्रो अध्ययनमा त्यस्तो के पाइएन,’ उनले थपे।

दैनिक एकदेखि पाँच कप ग्राउन्ड वा इन्स्ट्यान्ट कफी पिउनाले एरिथमिया, हृदय रोग वा हार्ट फेल वा स्ट्रोकको जोखिम कम हुन सक्ने देखिएको छ। हरेक दिन दुईदेखि तीन कप कुनै पनि प्रकारको कफी पिउनाले हृदय रोगका कारण अकालमै मृत्यु हुने जोखिम कम गर्न सक्ने पाइएको छ।

तेस्रो अध्ययनमा पहिले नै एरिथमिया वा कुनै प्रकारको हृदय रोग भएका सहभागीहरुको स्वास्थ्यको विश्लेषण गरिएको थियो। कार्डियोभास्कुलर रोग भएका मानिसहरूमा कफी सेवनको कुनै पनि स्तर एरिथमिया विकसित हुनेसँग जोडिएको पाइएन। एरिथमिया भएका वयस्कहरूमा विशेष गरी प्रति दिन एक कप कफी पिउनाले अकालमै हुने मृत्युको जोखिम कम हुने देखिएको थियो।

‘चिकित्सकहरू सामान्यतया हृदय रोग वा एरिथमिया भएका मानिसहरूले कफी पिउन सावधानी अपनाउनुपर्ने पक्षमा हुन्छन् र यसले मुटुको चालमा उतारचढाव ल्याउन सक्ने डरले कफी नपिउन सल्लाह दिन्छन्’, किस्लरले विज्ञप्तिमा भनेका छन्, ‘तर, नियमित कफी सेवन सुरक्षित रहेको र हृदय रोग भएका मानिसहरूको लागि स्वस्थ आहारको हिस्सा हुन सक्ने हाम्रो अध्ययनले देखाएको छ।’

तथापि, डा डेभिड काओले यो दावीलाई समर्थन गर्नको लागि उक्त एब्स्ट्र्याक्टमा पर्याप्त जानकारी नभएको इमेलमार्फत सीएनएनलाई भनेका छन्। काओ यी अनुसन्धानमा संलग्न थिएनन्। उनी युनिभर्सिटी अफ कोलोराडो आन्सचुट्जको कार्डियोलोजी एण्ड बायोइन्फर्मेटिक्स एण्ड पर्सनालाइज्ड मेडिसिन डिभिजनमा सहयोगी प्रोफेसर हुन्।

‘विश्लेषणमा के समायोजन गरिएको थियो भनेर बुझ्नु धेरै महत्त्वपूर्ण छ’, कोलोराडो सेन्टर फर पर्सनालाइज्ड मेडिसिनका मेडिकल डाइरेक्टरसमेत रहेका काओले भने, ‘अर्को सवाल उमेरमा पनि छ, यदि सीभीडी (कार्डियोभास्कुलर डिजिज)को कम जोखिम भएका युवाहरूले सबैभन्दा धेरै कफी पिए भने कफीको स्पष्ट लाभ सो उमेरलाई मात्र प्रतिबिम्बित गर्छ। लेखकहरूले केको लागि समायोजन गरे भन्ने उल्लेख गरेका छैनन्। त्यसैले होसियार हुनुपर्छ।’

अध्ययन विश्लेषणको विज्ञप्तिमा अनुसन्धानकर्ताहरूले व्यायाम, मदिरा, धुम्रपान, मधुमेह र उच्च रक्तचाप जस्ता मुटुको स्वास्थ्य र दीर्घायुलाई असर गर्न सक्ने कारकहरुको ख्याल गरिएको उल्लेख गरेको छन्। तर, आहारमा लेखकहरुको कुनै नियन्त्रण थिएन।

‘यद्यपि, यी विश्लेषणहरूले मध्यम कफी सेवनले हृदय रोगको जोखिम बढाउँदैन र यदि कसैलाई हृदय रोग छ भने पनि कफी सेवन रोक्न आवश्यक नभएको कुरामा प्रमाण थपेको छ,’ काओले भने।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]