सप्तरी – जवरजस्ती करणी गरेका आरोपमा रामेछापको मन्थलीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जवरजस्ती करणी गरेका आरोपमा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको टोलीले मंगलबार अपरान्ह ४ः३० बजेको समयमा रामेछाप मन्थली नगरपालिका वडा नम्बर–१ भैसेश्वर स्थित सडकमा हिँडिरहेको अवस्थामा एक पुरुषलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दैलेख जिल्ला चामुण्डा गाउँपालिका वडा नम्बर–४ खारगाँउ घर भई हाल रामेछापको मन्थली नगरपालिका वडा नम्बर–१ बस्ने वर्ष ३७ को रुकुम बुढा रहेको जिल्ला प्रहारी कार्यालय रामेछापले जनाएको छ ।
प्रहरीका अनुसार बुढाले गत चैत ७ गते रामेछापको रामेछाप नगरपालिका वडा नम्बर–८ स्थित कालिआँप भन्ने स्थानमा रहेको बाख्रा फर्ममा एक महिलामाथि जवरजस्ती करणी गरेका थिए ।
बुढाले चैत ७ गते दिउँसो ३ बजेको समयमा चिया खान जाँउ भनि बाख्रा फर्ममा लगि ती महिलालाई जवरजस्ती करणी गरी सो कुरा कसैलाई भनेमा ज्यान नै मार्ने र पारी गायव बनाइदिने धम्कि दिएको प्रहरीले जनाएको छ । आरोपी बुढालाई प्रहरीले नियन्त्रणमा लिई जवरजस्ती करणी अन्तर्गत मुद्दा दायर गरेको जनाएको छ भने घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।