काठमाडौं – नेपाल आउन लागेका बलिउड दबङ स्टार सलमान खानलाई हेर्न नेपालीले पाँच हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म खर्चिनु पर्ने भएको छ । दशरथ रंगशालामा हुने कार्यक्रमका लागि ब्रोन्ज टिकटका लागि पाँच हजार, सिल्भर टिकटका लागि दश हजार, गोल्ड टिकटका लागि १५ हजार र प्लेटिनम टिकटका लागि २५ हजार रूपैयाँ तोकिएको आयोजकले जनाएको छ ।
टिकट चाडै नै डिजिटल वालेटमार्फत बिक्री खुला गरिने आयोजक ओडीसी इन्टटेन्मेन्टले जनाएको छ । सलमान जेठ १४ मा दशरथ रंगशालामा हुने ‘दबंग टुर रिलोडेड’ का लागि नेपाल आउँदै छन् ।
ओडिसी इन्टटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा सलमानसहितका कलाकार नोपल आउन लागेका हुन् । सलमानसँगै बलिउड कलाकारहरू सोनाक्षी सिन्हा, ज्याक्लिन फर्नानडिज, प्रभु देवा, मनिष पल, गुरु रन्धावा, आयुष शर्मालगायत नेपाल आउन लागेका हुन् । ज्याकलिन भने कानुनी झमेलामा फसेका कारण नेपाल आउने निशिच्त भइसकेको छैन ।
सलमानले नेपालमा ३ करोड भारतीय रुपैयाँ पारिश्रमिकमा लिने ओडीसीले जनाएको छ । भारतीय कलाकारका लागि जम्मा भारतीय ६ करोड रुपैयाँ खर्च हुने ओडीसी प्रमुख सिमान्त गुरुङले जानकारी दिए ।