सप्तरी – अमेरिकाले युक्रेन युद्धमा रूसलाई सहयोग नगर्न चीनलाई चेतावनी दिएको छ। राष्ट्रपति जो बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले द्वन्द्वमा रासायनिक हतियार प्रयोग गरेमा नाटोले त्यसको प्रतिक्रिया दिने चेतावनी पनि दिएका छन्।
जी सेभेन राष्ट्रहरूले युक्रेनमा भएको आक्रमणबाट आतंकित भएको र सम्भावित युद्ध अपराधको अन्तर्राष्ट्रिय फौजदारी अदालतको अनुसन्धानलाई समर्थन गर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघको महासभाले युक्रेनमा सहायता पहुँच र नागरिक सुरक्षाको माग गर्दै प्रस्ताव पनि पारित गरेको छ।
यसैबीच युद्धका कारण युक्रेनबाट विस्थापित भएका एक लाख नागरिकलाई अमेरिकाले आश्रय दिने भएको छ। रूसको आक्रमणका कारण लाखौँ मानिस युक्रेनबाट विस्थापित हुनु परेकाले तीमध्ये एक लाखलाई अमेरिकाले आश्रय दिने भएको हो। अमेरिकाले युक्रेनलाई थप एक अर्ब अमेरिकी डलर पनि सहयोग गर्ने घोषणा गरेको छ। उक्त रकम युक्रेनमा उत्पन्न मानवीय संकट समाधानका लागि प्रयोग गरिने अधिकारीहरूको भनाइ छ।