काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा अर्को साता भारत भ्रमणमा जाने भएका छन् । उनको भारत भ्रमणकाबारे औपचारिक जानकारी नआएपनि परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ ।
परराष्ट्र स्रोतकाअनुसार भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री लगायतका अरु नेताहरुसँगको भेटघाट कार्यक्रमबानरे तयारी भइरहेको छ । भारतका लागि नेपाली राजदूतसमेत नियुक्ति भइसकेकाले दूतावासले पनि काम अघि बढाएको छ ।
परराष्ट्र स्रोतको भनाइमा प्रधानमन्त्री देउवाको यो भ्रमण राजकीय भ्रमण भएकाले दुइदेशबीचमा महत्वपूर्ण सहमति हुनेछ । यसअघि ‘गुजरात समिट’मा जाने तयारी गरे पनि देउवाको भ्रमण कोरोना महामारीका कारण समिट नै रद्द भएपछि रोकिएको थियो ।
प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो । देउवा गत असारमा पाँचौँ पटक प्रधानमन्त्री भएका थिए । प्रधानमन्त्री भएपछि देउवाले पहिलो विदेश भ्रमणका रूपमा कोप–२६ मा सहभागी हुन बेलायत गएका थिए ।
यता, स्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पनि भारतको एकदिने औपचारिक भ्रमणका लागि भारत गएका छन् । भारतीय सरकार तथा वीङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको एक कार्यक्रममा सहभागी हुन मन्त्री आले भारत गएका हुन् ।