
दाङ – अपहरणमा परेको नाटक गरी आफ्नै साहुसँग ५० लाख रुपैयाँ फिरौती माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँफिकोट गाउँपालिका ९ रुकुम पश्चिम घर भई हाल तुलसीपुर उपमहानगरपालिका ४ नयाँबस्ती बस्ने २४ वर्षीय जनक देवकोटालाई प्रहरीले लमही नगरपालिका ९ अमिलिया जंगलबाट पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । उनी नयाँबस्तीस्थित हरिप्रसाद रिजालको ड्रागन फ्रुट कृषि फर्ममा काम गर्दै आएका थिए ।
देवकोटाले फर्म सञ्चालक रिजाललाई डर, त्रास र धम्की दिई ५० लाख रुपैयाँ फिरौती मागेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए । उनले अपहरणमा परेको नाटक गरी कृषि फर्म सञ्चालक रिजालसँग मध्यरातमा म्यासेजमार्फत ५० लाख रुपैयाँ नदिए कामदार देवकोटालाई सिध्याईदिने धम्की दिएका थिए ।
उनले फागुन २७ गते फर्ममा प्लास्टिकको पाइपमा कालो टेपले बेरेर बम जस्तो वस्तु राखेका थिए । उक्त वस्तुलाई नेपाली सेनाले डिस्पोज गरेको थियो । त्यसपछि ३० गते फर्म सञ्चालक रिजाल आबद्ध रहेको पार्टी र रिजाल एमसीसीको पक्षमा रहेको भन्दै धम्कीपूर्ण भाषामा नो एमसीसी लेखेको पत्र राखेका थिए । चैत ६ गते तुलसीपुर बजार जान्छु भनी निस्किएका देवकोटा बेलुका श्रीमती पवित्रा देवकोटालाई तपाईंको बूढो हामीसँग सुरक्षित छ, हामी एउटै पार्टीका रहेछौं, हजुर आफू सुरक्षित ठाउँमा जानुहोस्, हामी हजुरको बुढोलाई केही गर्दैनौं, हामीले हरिप्रसाद रिजालसँग बदला लिनु छ भनेर मोबाइलमा म्यासेज पठाएर सम्पर्कविहीन भएका थिए ।
श्रीमतीले उक्त जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्दप्रसाद रिजाल, ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्याल र वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक हृदेश सापकोटाको टोली उद्धार र असन्धानमा खटेको थियो । टोलीले देवकोटालाई मंगलबार अमिलियाको जंगलबाट पक्राउ गरेको थियो । देवकोटा सुरुमा नेपालगन्ज गएर एक होटेलमा बसेका थिए । त्यसपछि फर्केर जंगलमा लुकेको अवस्थामा पक्राउ गरिएको थियो ।