सप्तरी – नेपालको आदिवासी जनजाति आन्दोलन प्रतिरोधी चेतसहितको अभियान हो । विभेद, उत्पीडन, अपमान, शोषण र असमानताविरुद्ध सामूहिक हस्तक्षेपकारी अभियान हो । हरेक आन्दोलनका विविध आयाम हुन्छन् । आन्दोलनहरू अनेकौं आरोह–अवरोहबाट अगाडि बढ्छन् । जनजाति आन्दोलन पनि यी सबै प्रक्रियाबाट गुज्रिएको छ ।
बडेमानका चुनौतीहरूबीच अहिले जनजाति आन्दोलनलाई नयाँ गन्तव्य चाहिएको छ । चुनौतीहरूलाई अवसरमा परिणत गर्न परिवर्तित परिस्थितिमा आन्दोलनले आन्तरिक र बाह्य पक्षको गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने हुन्छ । आदिवासीहरूमाथि हुने अन्याय र विभेदका आधारमा जनजाति आन्दोलनले राज्य सरकार, राजनीतिक दल, सत्ता–शक्ति साझेदारहरूको आलोचना त गर्छ नै, सँगसँगै आन्तरिक आलोचना–आत्मसमीक्षा गर्दै अगाडिको बाटो पहिल्याउन प्रयत्नशील रहन्छ । आदिवासी जनजाति महासंघजस्तो अग्रणी संस्थाको जिम्मेवार पदमा बसेर आन्दोलनमा होमिएको एक अभियन्ताका हैसियतमा यो लेख आन्तरिक समीक्षातर्फको एउटा सानो पहल हो ।
२०४६ को सेरोफेरोयता सुरु भएको जनजाति आन्दोलनका केही सार्थक उपलब्धिहरू छन्, तथापि आदिवासीय मौलिक विशेषता र सन्देशसहित हाम्रो आन्दोलन अघि बढ्न नसकेको पो हो कि जस्तो भइरहेको छ । परिवर्तनका लागि हस्तक्षेपकारी वैचारिकी र रूपान्तरणमुखी कार्यक्रमहरूको अभाव छ । जनजाति आन्दोलन धेरै हिसाबले गतिशील नभइरहँदासमेत यसका वैचारिक पक्ष र सांगठनिक पाटोबारे अपेक्षित विचार–विमर्श हुन सकेको छैन । जनजाति आन्दोलनलाई लिएर यस्तो परिस्थिति उत्पन्न हुनु भनेको विचार र संगठनका क्षेत्रमा ऊर्जाशील र गतिशील नेतृत्वको अभाव हुनु हो । यस्तो अभाव हाम्रो पुस्ताले गहिरोसँग महसुस गरिरहेको छ ।
२०३६ सालयता, तर प्रस्टसँग २०४६ सालसँगै, आदिवासी जनजाति आन्दोलन आदिवासित्व र आदिवासीवादको जगमा बहुसंस्कृति, बहुलता, स्वतन्त्रता, सामाजिक न्याय, समानता, समता, समावेशी लोकतन्त्र, स्वायत्तता, आत्मनिर्णयको सामूहिक अधिकार, भूमि–भूक्षेत्र–स्रोतमाथिको अधिकारजस्ता महत्त्वपूर्ण सवालवरिपरि केन्द्रित छ । त्यसैले विभेदरहित समाज निर्माण गर्ने जनजाति आन्दोलनको मूल ध्येयको सैद्धान्तिक पाटो केलाउँदा यी पक्षहरूलाई ध्यान दिनुपर्छ ।
जनजाति आन्दोलनभित्रै एउटा ठूलो तप्कालाई आन्दोलनको सैद्धान्तिक र वैचारिक आधार प्रस्टै छ जस्तो लाग्छ, सामाजिक न्याय र समानतावरिपरि निर्माण भएको वैचारिकी नै पर्याप्त छ जस्तो लाग्छ । यति नै सम्पूर्णता हो भने, यो तप्कामा अहिले ठूलो दायित्व आइपरेको छ । हाल जनजाति आन्दोलनभित्र धेरैलाई खट्किरहेको वैचारिक अन्योल र बौद्धिक दिशाहीनता के–कति विशेषताले बृहत्तर र पूर्ण छ भनी जनजातिगणलाई व्याख्यासहित बुझाउने, त्यो व्याख्यालाई जनमानसमा लग्दै व्यापक संवाद र छलफल गर्ने, ताकि अन्योल चिर्न सकियोस् । यो वैचारिकीभित्र रहेको मानव र प्रकृतिमैत्री दिगो वैकल्पिक ज्ञानपरम्परा एवं जनजाति गाउँबस्तीमा के–कस्तो आधारसहित यस्तो बुझाइको अभ्यास हुन सक्छ, त्यसलाई प्रस्ट्याउने । यस्ता गम्भीर विषयहरू सही ढंगले सम्प्रेषण गर्नु आन्दोलनको दायित्व र कर्तव्य हो ।
यी दायित्व र कर्तव्यमा सर्वथा अभाव खट्किरहेको छ । जनजाति आन्दोलन यस्तो प्रतिक्रियाबाट गुज्रिरहेको छ, सार्थक आलोचनामा होइन खुद्रा–मसिना कमजोरीमा बढी ऊर्जा खर्चिइने गरेको छ । यस्तो अभ्यासले आन्दोलनको सैद्धान्तिक–वैचारिक जरा खोतल्ने र विद्यमान उल्झनहरू छिचोल्दै जनजाति आन्दोलनलाई नयाँ उचाइ दिनतर्फ सघाइरहेको छैन । लामो समयदेखि आन्दोलन अलमलमै रहेको आभास हुन्छ ।
जनजाति आन्दोलनको अभियन्ताको नाताले यस्तो अन्योल अनुभूति गर्न गाह्रो छैन । केवल सामाजिक न्याय र समानता भनेर आन्दोलनले अब पार पाउन सक्दैन । हुन त सामाजिक न्याय र समानताको कसीमा पुँजीवाद, उदारवाद, मार्क्सवाद, राष्ट्रवाद, आधुनिकता, भूमण्डलीकरणजस्ता वाद–दर्शनहरूले सिर्जना गरेका नकारात्मकतामाथि विमर्श हुँदै पनि आएकै छन्, तर यस्ता विमर्शहरूसमेत कतिपय सन्दर्भमा जनजातीय ऐतिहासिकता र स्थानीयता, साथै देशीय, क्षेत्रीय र विश्वव्यापी रूपमा विकसित पक्षहरूलाई ध्यानमा राखेर आन्दोलनलाई दिशानिर्देश गर्ने वैचारिकी प्रस्तुत गर्नमा चुकिरहेका छन् । त्यसैले भाषा, संस्कृति, प्रतिनिधित्व र पहुँचजस्ता महत्त्वपूर्ण सवालका सार्वजनिक विमर्शहरू प्रायशः गुजुल्टिएर आउने गर्छन् ।
हाल मानव समुदाय, चराचर जगत् र समग्र प्रकृतिमा गहिरो असन्तुलन निम्तिएको छ, जसको संकटको भार नेपालमा र संसारभर आदिवासीमा बढी परेको छ । त्यसैले पनि आदिवासी जनजाति आन्दोलनले हाल खोजिरहेको वैकल्पिक दिशाले विशिष्ट सन्दर्भसहितको आदिवासीय दर्शनको माग गर्छ । त्यस्तो दर्शनवरिपरि निर्माण हुने ज्ञान–विज्ञान र सौन्दर्यशास्त्रले नयाँ आधार र विशेषताहरू खोजिरहेको भान हुन्छ । कम्तीमा राजनीतिक शासन प्रणालीको सवालमा स्वायत्तताको वैचारिक आधार र व्यावहारिक पाटो प्रस्ट पार्न सकोस् । आर्थिक सवालमा भूमि, भूक्षेत्र र प्राकृतिक स्रोत–साधनमाथि सामूहिक स्वामित्व र न्यायोचित वितरणले सार्थक अभ्यास समात्न सकोस् । सांस्कृतिक क्षेत्रमा बहुसांस्कृतिक विश्वदृष्टिसँगै जनजातीय सौन्दर्यचेतले कला, साहित्य र संगीतसँग आदिवासीय ज्ञान–परम्पराका विशेषताहरू आन्दोलनलाई सशक्त र व्यापक बनाउन सहायक हुन सकून् ।
जनजाति आन्दोलनलाई चाहिएको दिशाबोध गर्न प्रतिबद्ध रहनु अबको नेतृत्वको दायित्व हो । समाज विकासक्रममा दर्शनशास्त्रका विविधताहरूमा समेत नयाँपन आउने र परिमार्जन हुने भइरहन्छ । हाल मानव सभ्यतामा जसरी संकट परिरहेको छ, त्यसबाट जनजाति–उत्पीडनमा समेत नौला स्वरूपहरू देखा पर्दै छन् । यहाँ अन्य कुराका अलावा मानव र प्रकृतिबीचको सन्तुलन मूल सवाल बनिरहेको छ । यो पक्षलाई नयाँ शिराबाट ध्यान नदिईकन जनजातीय उन्नतिका आधारभूत सवालहरूबारे समेत सोच्न सकिँदैन । यस पृष्ठभूमिलाई आदिवासीय ज्ञानपरम्पराले मनन गर्न सके मात्र जनजाति आन्दोलनले खोजिरहेको अग्रगति हासिल गर्न सकिन्छ, मानव समाजलाई नै न्याय र मुक्तिको पथमा डोर्याउन सकिन्छ ।
आदिवासी जनजाति आन्दोलनलाई सजिलो भाषामा पहिचान र अधिकारको आन्दोलन भनिन्छ । बहुसांस्कृतिकता, समावेशी लोकतन्त्र र सहभागिता, पूर्ण समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता आदिलाई जनजाति आन्दोलनको उपलब्धि ठानिन्छ । तर यिनलाई अनेकौं राजनीतिक दल र समूहले समेत आफ्नो उपलब्धि भनिरहेका छन् । जनजाति आन्दोलनको हकदाबीका पनि अनेकौं सीमा देखिन्छन् । आन्दोलनले खोजिरहेको वैचारिक स्पष्टताले विद्यमान अन्योललाई चिर्न त सघाउनुपर्छ नै, सँगै हालसम्मका उपलब्धिमाथि हकदाबी कायम गर्न सक्नुपर्छ । अनि मात्र जनजाति आन्दोलनले अगाडिको बाटो पहिल्याउन सक्छ । साथै आन्दोलनमा अहिले नै देखा परेका स्वायत्तता, स्रोतमाथिको सामूहिक स्वामित्व र बहुसांस्कृतिक विश्वदृष्टिसहितको सौन्दर्यचेतजस्ता सवालहरूबारे नयाँ व्याख्यासहित सार्वजनिक संवाद हुने आधार बन्छ ।
अन्त्यमा, आदिवासीय ज्ञानपरम्पराको ऐतिहासिक र आन्दोलनको मौलिक सवाललाई निस्तेज पार्ने चिन्तन संस्कृति र अभ्यासहरू बलिया छन् । जनजाति–उत्पीडनलाई मलजल गरिरहेको मौजुदा व्यवस्थाले वैचारिक तवरमा समेत आन्दोलनलाई कमजोर बनाउन अनेकौं दृष्टिकोण र अभ्यास थोपर्ने गर्छ । त्यसैले जनजाति आन्दोलनको विचार पक्षसमेत एकै किसिमको गोलचक्करमा घुमिरहेको छ । यसले आन्दोलनमा वैचारिक अन्योल निम्त्याएको छ र आन्दोलनको व्यावहारिक पक्षलाई कमजोर बनाएको छ । बेलामौकामा आन्दोलनका अभियन्ताहरू राजनीतिक खरिद–बिक्रीमा समेत फस्ने–फसाइने गरेका छन् । आन्दोलनको दिशाबोध गर्न सक्ने अभियन्ताहरू रोजीरोटी चलाउने वृत्तिमै अल्झिरहँदा वैचारिक पाटो नाजुक बनेको छ । यस्तो अर्थ–राजनीतिक पाटोलाई समेत चिर्दै अबको नेतृत्वले जनजाति आन्दोलनलाई नयाँ मोड दिन सक्नुपर्छ । यसो गरिरहँदा जनजाति आन्दोलनले आदिवासी समुदायलाई मात्रै होइन, सिंगो समाज–समुदायलाई स्वतन्त्रता, समानता र बहुलताको नयाँ मुक्ति मार्गमा डोर्याउने सम्भावना हुन्छ । यस्तो वैचारिक चुनौतीलाई नयाँ पुस्ताका जनजाति अभियन्ताले साझा कार्यभार बनाउन सके जनजाति आन्दोलनले नयाँ वैचारिक स्पष्टता हासिल गर्न सक्छ । आन्दोलनले ऊर्जाशील र गतिशील नेतृत्व प्राप्त गर्न पनि लामो समय लाग्ने छैन ।