काठमाडौँ – काठमाडौंस्थित याक एन्ड यती र हायात रिजेन्सी, काठमाडौं होटलका सञ्चालक राधेश्याम सराफको निधन भएको छ । एक महिनादेखि भारतको नयाँदिल्लीमा उपचाररत सराफको ९२ वर्षको उमेरमा मंगलबार निधन भएको हो । चार्टर्ड विमानबाट उनको शव काठमाडौं ल्याई बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
सन् १९३० मा भारतको गुवाहाटीमा जन्मिका सराफ तिब्बतमा व्यापार गर्ने सिलसिलामा सन् १९६३ मा पहिलो पटक नेपाल आएका थिए । १९६६ मा हेटौंडा औद्योगिक क्षेत्रमा नाइलन कपडा कारखाना स्थापना गरेर उनी उद्यममा लागेका थिए । भारतले नाइलन निर्यातमा रोक लगाएपछि उनले त्यहाँको कारखाना बन्द गरेका थिए । त्यसपछि उनी परिवारसहित हङकङ सरेका थिए ।
त्यहाँबाट उनी १९९७ मा नेपाल बस्ने गरी काठमाडौं फर्किएको पारिवारिक स्रोतको भनाइ छ । पर्यटकका लागि रसियन नागरिक बोरिस लिसानेभिचले बहादुर भवनमा स्थापना गरेको रोयल होटलबाट आथित्य व्यवसायमा जोडिएका सराफले दरबारमार्गमा सन् १९७७ मा याक एन्ड यती होटल स्थापना गरेका थिए ।
सन् १९९० मा सराफले तारागाउँ पर्यटन विकास बोर्डको स्वामित्वमा रहेको बौद्धस्थित तारागाउँ होटल (हायात रिजेन्सी काठमाडौं) को स्वामित्व लिएका थिए । उनका दुई छोरा अरुण र उमेश छन् ।