जनकपुरधाम – कोभिड १९ संक्रमण विरुद्धको मोडर्ना खोप लगाएपछि धनुषामा एक विद्यालयका १४ जना विद्यार्थी सिकिस्त भएका छन् । धनुषाधाम नगरपालिका–७ स्थित मेरी गोल्ड सेकेण्ड्री बोर्डिंङ स्कुलका विद्यार्थीहरु सिकिस्त भएका हुन्।
बिरामीमध्ये ४ जना विद्यार्थीको स्थानीय स्तरमै उपचार गरी घर फर्काइएको छ भने अन्य १० जनाको उपचार प्रादेशिक अस्पताल जनकपुरधाम भइरहेको छ । तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको विद्यालयका शिक्षक इन्द्रदीप साहले बताए ।
‘आइतबार धनुषाधाम नगरपालिका वडा नं. ८ स्थित हेल्थपोस्टका स्वास्थ्यकर्मी विद्यालय आएर कक्षा ६ भन्दा माथिका करिब ३ सय विद्यार्थीलाई विद्यालयमै खोप लगाइएको थियो ।’ उनले भने, ‘ती मध्ये १४ जना विद्यार्थीमा अत्यधिक टाउको दुख्ने, रिंगटा लाग्ने, श्वासप्रश्वासमा समस्या भएर एकाएक बेहोस हुनेजस्ता लक्षण देखिएपछि उपचारका लागि अस्पताल पठाइएको हो।’
समस्या हिजै भएपनि आज उनीहरु विद्यालय आएपछि बेहोस भएपछि ४ जनालाई स्थानीय स्वास्थ्य चौकी उपचार गराएर घर फर्काएकाे उनले बताए। बाँकी १० जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल पठाइएको हो।
खोपकै कारण बिरामी भएको भन्ने एकिन भने अझै भएको छैन।
यता उपचारमा संलग्न प्रादेशिक अस्पतालका बालरोग विशेषज्ञ चिकित्सक जितेन्द्र जयसवालले आन्तरिक त्रास मास हिस्टेयरियाको कारण तिनीहरुमा समस्या आएको हुन सक्ने बताएका छन् ।
‘खोप लगाउँदा सामान्य ज्वरो आउने, रिंगटा लाग्नेजस्ता समस्या आउँछन्,’ उनले भने, ‘तिनीहरुमा पनि समान्य लक्षण देखिएपछि भित्री रुपले डराएका कारण यस्तो समस्या आएको हुनसक्छ ।’ उनले विद्यार्थीहरुको उपचारपश्चात अवस्था सामान्य रहेको र १२ घण्टाको निगरानीपछि डिस्चार्ज गर्ने बताए।