सप्तरी – जुम्ला-कर्णाली प्रदेश जुम्ला सहित अन्य जिल्लाका स्याउ किसानले क्षतिपूर्ति रकम पाएका छन् । स्याउ बिमा गरेका कर्णालीका किसानले बिमा बापतको क्षतिपूर्ति पाएका छन् । गएको वैशाख जेठमा परेको असिना पानी र खडेरीका कारण स्याउ नष्ट भएपछि किसानले स्याउ बिमा गरेका थिए ।
जसअन्तरर्गत कर्णालीका ३ हजार ४ सय ६८ जना बिमित किसानले ७ करोड २५ लाख बराबरको क्षतिपूर्ति रकम पाएका हुन् । जसमा जुम्लाका मात्रै एक हजार ४ सय २० जना स्याउ किसानलाई शिखर इन्स्योरेन्स कम्पनी जुम्लाबाट २ करोड ७८ लाख बरारको बिमा दाबी रकम उपलब्ध गराइएकोे छ ।
अन्य कर्णालीका मुगु, कालिकोट, डोल्पालगायतका २ हजार ४८ जना किसानले बिमा बापतको ४ करोड ४७ लाख दाबी रकम भुक्तानी दिइएको शिखर इन्सोरेन्स कम्पनीका कर्णाली प्रदेश प्रमुख ऋषिराम पाण्डेले बताए ।
उनले भने, “मौसममा आधारित बिमा गरेका जुम्लाका १४ सयबढी स्याउ किसानसहित कर्णाली भरीका ३५ सय किसानले बिमा अनुसारको न्युनतम २७ सयदेखि अधिकतम २ लाख २४ हजार बिमा दाबी भुक्ताानी गर्दा ७ करोड २५ लाख क्षतिपूर्ति पाएका छन् । औपचारिक कार्यक्रम गरेर अधिकांश किसानलाई चेक हस्तान्तरण गरिसकेका छौं । बाँकी किसानलाई पनि घरमै पुगेर चेक दिने तयारी गरेका छौं ।”
जुम्लाका झण्डै १८ हजार घरधुरी स्याउ खेतीमा निर्भर छन् । तर बिमा नगर्दा प्राकृतिक प्रकोपबाट जुम्लाका ९० प्रतिशत किसान क्षति व्यहोर्न बाध्य छन् । बिमाबारे थाहा पाएर पनि बिमा नगर्ने किसान थुप्रै छन् । तर एकैसाथ दुई करोड ७८ लाख रुपैयाँ किसानलाई क्षतिपूर्ति बापत दिएपछि किसान स्याउ बिमाप्रति आर्कषित हुने जोखिम बहन गरी बिमाको लाभ लिन सक्ने विश्वास लिएको प्रमुख पाण्डेले बताए ।
बिमाको रकम पाउँदैनौ भनेर चिन्तत भएका जुम्ली किसानले बिमा अनुसार चेक पाएपछि जुम्लाका आठै तहका किसान खुसी लागेको एक किसानले बताए । क्षतिपुर्ति पाएका किसानले आगामी दिनमा थप विरुवाको पनि बिमा गर्ने गाउँमा अन्य किसानलाई बिमा गर्न परामर्श दिने बताएका छन् ।
प्रति बिरुवाको बिमांक रकम ४२ रुपैयाँ मात्रै थियो । तर बिमापछि प्रतिबिरुवा साढे २ सय राहत पाएका छन् । नयाँ बिमा गर्ने किसानले फागुनदेखि १५ चैतसम्म बिमा गराई सक्नुपर्नेछ । मौसमी स्याउ बिमा गरेमा खडेरी र असिनाले असर पारेपछि क्षतिपूर्ति उपलब्ध दिने गरेको शिखर बिमा कम्पनी जुम्लाले जनाएको छ ।
प्रमुख ऋषिराम पाण्डेका अनुसार कर्णालीमा २०७२ सालदेखि स्याउ बिमा कार्यक्रम सुरु भएको हो । अहिले हुम्लाबाहेक तत्कालीन कर्णालीको जुम्ला, कालीकोट, मुगु र डोल्पाका किसान स्याउ बिमाप्रति निकै उत्साहित छन् । असिना र खडेरी परेर स्याउ उत्पादनमा ह्रास आएपछि बिमा गराएका किसानले क्षतिपूर्ति पाउने गर्छन् ।
स्याउ खेती विस्तार गर्न, उत्पादन वृद्धिका साथै प्राकृतिक प्रकोपबाट किसानले व्यहोर्नुपर्ने घाटा बापतको क्षतिपूर्ति रकम दिनका लागि स्याउ बिमा सुरु गरिएको शिखर इन्सोरेन्स जुम्लाले जनाएको छ ।