सप्तरी – रूसले युक्रेनको दक्षिण पूर्वी तटीय सहर मरिओपोलमा आइतबार आक्रमण तीव्र पारेको छ।
न्युयोर्क टाइम्सका अनुसार रूसी सैनिक जल, जमिन र आकाशबाट एकैसाथ मरिओपोलका संरचनाहरूमा आक्रमण गरेका छन्। मरिओपोलको केही भाग रूसी सेनाले कब्जा गरेका छन् भने केही ठाउँमा युक्रेनी सुरक्षा फौजको नियन्त्रण छ।
पछिल्लो समय त्यहाँ मानिसहरू बिजुली, पानी, ग्यासको अभावमा बाँचिरहेका छन्। उनीहरू विद्यालय,नाटकघर र अपार्टमेन्टका जगमा आश्रय लिइरहेका छन्। अवस्था कतिसम्म भयावह छ भने मानिसहरूले मृत्यु भएका आफन्त र छिमेकीको राम्ररी अन्त्येष्टि गर्न पाएका छैनन्।
समाचार संस्था रोयटर्सका अनुसार मृत्यु भएका मानिसहरूलाई केही दिनअघि युक्रेनी सेनाले घरमै चिसो ठाउँमा राख्न भनेको थियो। आश्रय लिने मानिसहरूले ठाउँ भरिन थालेपछि शव राख्न गाह्रो भएको हो। लामो समय शव राख्न नसकेपछि मानिसहरूले सडक छेउमा खाल्डो खनेर पुर्न थालेका छन्।
‘उनीहरू रूसी बम र ग्रिनेडका कारण मरेका होइनन्। केही हप्तादेखिको चिसो, तनाव र औषधी नपाएपछि उनीहरूको मृत्यु भएको हो,’ छिमेकीको शव गाड्न खाल्डो बनाइरहेका आन्द्रेले भने।
अहिले अस्थायी रूपमा सडकछेउमा गाडिएका शवको पछि राम्ररी अन्त्येष्टि गर्न पाउने उनलाई आशा छ। मरिओपोलका स्थानीय अधिकारीहरूका अनुसार दुई सातादेखि ४ लाख बढी मानिसहरू मरिओपोलमा अड्किएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मरिओपोलमा रूसले गरेको कब्जालाई मानिसहरूले आउने कैयौं शताब्दीसम्म आतंकका रूपमा सम्झने बताएका छन्। रूसले मरिओपोलमा सोमबार बिहानसम्म आत्मसमर्पण गर्न अल्टिमेटम दिएको थियो।
युक्रेनले उक्त अल्टिमेटम अस्वीकार गरिदिएको छ। युक्रेनले मरिओपोलमा फसेका मानिसलाई बाहिर निकाल्न रूसले मानवीय करिडोर खोल्नुपर्ने बताएको छ।