
काठमाडौं – चौथो संस्करणको नेपाल आइडलको उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले जितेका छन् ।
शनिवार राति सम्पन्न नेपाल आइडल–४ को ग्राण्ड फिनालेमा भूपेन्द्रले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधिसंगै नगद ३० लाख रुपैयाँ तथा ट्रफी पाएका हुन् ।
गायनमा आधारित यो प्रतियोगितामा फस्ट रनर्सअपको उपाधि झापाका नाम्गेल तामाङले जिते । उनले नगद ५ लाख रुपैयाँ तथा ट्रफी पाए भने सेकेन्ड रनर्सअपको उपाधि रामेछापका रञ्चित नेपालीले जिते । उनले ३ लाख रुपैयाँ र ट्रफी जिते ।
झापाका विश्वास उप्रेती तथा मोरङकी लक्ष्मी पौडेल प्रतियागितामा क्रमशः चौथो र पाँचौं भए । उनीहरुले गिटार र दस लाख रुपैयाँ बराबरको बीमा सुविधा पाए ।
एपीवान टेलिभिजनबाट प्रसारण भएको यो सिजनमा संगीतकार शम्भुजीत बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान निर्णायकको रुपमा थिए ।