काठमाडौं – भारतको जमशेदपुरमा जारी साफ यू १८ महिला साफ च्याम्पियनसिपमा आज नेपालले बंगलादेशको सामना गर्दैछ।
जमशेदपुरको रंगशालामा हुने खेलमा नेपालले दोस्रो खेलमा बंगलादेशको सामना गर्न लागेको हो।
पहिलो खेलमा आयोजक भारतसँग ७-० को लज्जास्पद हार बेहोरेको नेपाल आजको खेलमा भने जितको लक्ष्यका साथ मैदान प्रवेश गर्नेछ।
गएको वर्ष बंगलादेशमै सम्पन्न भएको खेलमा भने नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो।
तर, त्यो साफमा नेपालले फाइनलमा यात्रा तय गर्न सकेको थिएन। यो वर्ष उपाधि लक्ष्यका साथ भारत भ्रमणमा निस्किए पनि नेपाली टिमले जित निकाल्न सकेको छैन।
आज नेपालले दोस्रो खेल खेल्न लागेको हो भने बंगलादेशले पहिलो खेल खेल्न लागेको हो।
डबल राउन्ड रोबिन शैलीमा हुने साफमा तीन टिम मात्र समावेश गरिएका छन्। तीन टिमबीचको खेलबाट जसले धेरै अंक बनाउँछ त्यो टिम विजेता हुनेछ।