काठमाडौं – मैदानबाहिर चेल्सी क्लबको भविष्यबारे अझै अनिश्चितता कायमै छ । तर, मैदानभित्र चेल्सीको विजयी यात्रा भने कायमै छ । चेल्सीले युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ ।
अमेरिकाका क्रिष्टियन पुलिसिक र सेसर एजप्लिकुएटाको गोलमा चेल्सीले बुधबार राति लिललाई २–१ तथा समग्रमा ४–१ ले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो ।
बेलायत र युरोपियन युनियनले चेल्सीका मालिक रोमन अब्राहिमोभिचको सम्पत्ती ‘फ्रीज’ गरिदिएपछि क्लबको भविष्यलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि राष्ट्रपति भ्लाद्मिर पुटिनसँग साठगाठ रहेको भन्दै अब्राहिमोभिचलाई प्रतिबन्ध लगाउँदै उनको सम्पत्ती ‘फ्रिज’ गरिएको हो ।
प्रतिबन्धपछि चेल्सीले नयाँ टिकट बिक्री गर्न र नयाँ खेलाडी अनुबन्ध गर्न नपाउने भएको छ । चेल्सी क्लब सञ्चालनका लागि ‘विशेष लाइसेन्स’ जारी गरिएको छ । अब्राहिमोभिचले १९ वर्षे अवधिमा २ अर्ब अमेरिकी डलर लगानी गरेका चेल्सीलाई युरोपियन फुटबलको पावरहाउस बनाएका थिए । युक्रेनमा रुसी आक्रमणपछि अब्राहिमोभिचले क्लब बेच्ने घोषणा गरेका थिए । तर, अब उनीमाथि प्रतिबन्ध लागेको छ ।
मैदानबाहिरको अनिश्चितताले मैदान भित्रको प्रदर्शनमा भने कुने असर गरेको छैन । चेल्सी सबैखाले प्रतियोगितामा गरी पछिल्लो १३ खेलमा अपराजित छ । १३ दुई खेल बराबरी खेलेको छ भने बाँकी खेलमा विजय हासिल गरेको छ ।
गएराति फ्रान्समा घरेलु टोली लिलले ३८औं मिनेटमा बुराक यिलमाजको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा पुलिसिकले बराबरी गोल फर्काए । ७१औं मिनेटमा एजप्लिकुएटाले गोल गरेपछि चेल्सी विजयी नतिजा निकाल्न सफल भएको थियो ।
‘‘पहिलो हाफमा उनीहरुले हामीमाथि दबाब सिर्जना गरे,’’ चेल्सीका पुलिसिकले भने, ‘‘पहिलो हाफअघि भएको गोल धेरै महत्वपूर्ण थियो । त्यसपछि टिमको मनोबल बढेको थियो ।’’
गत महिना चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न पहिलो लेगमा २–० को नतिजा निकालेको थियो ।