२४ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ०२, २०७८

सप्तरी – काभ्रेको बनेपा नगरपालिका- १०, जनागालस्थित सय वर्षभन्दा पुरानो इतिहास बोकेको ‘सेतोपाटी’ पुनर्निर्माण गरिएको छ। २०७२ को भुइँचालोले जीर्ण बनाएको यो पाटी लामो समय पुनर्निर्माण हुन सकेको थिएन।

वडा कार्यालय र स्थानीयको सहयोगमा पुरातत्व विभागले यही फागुनमा पुनर्निर्माण सम्पन्न गरेको हो।

‘कोरोनाका कारण ढिला भए पनि हामीले पुनर्निर्माण पूरा गरेका छौं,’ पुरातत्व विभागका इन्जिनियर प्रेमलक्ष्मी शाक्यले भनिन्, ‘यो धेरै पुरानो पाटी भएकाले कतिपय भाग जीर्ण भइसकेका थिए। पूरै भत्काएर बनाउनुपरेकाले समय लाग्यो।’

उनका अनुसार विभागले काम सुरू गर्दा केही भित्ता पूरै भत्किएका थिए। छाना प्वाल परेको थियो। काठ, इँटा मक्किएका थिए। यस्तो अवस्थाको पाटीलाई चुनासुर्खी, अग्राखको काठ लगायत परम्परागत सामग्री प्रयोग गरेर पुरानै स्वरूपमा ढालिएको उनले बताए।

‘मूलढाँचा परिवर्तन गरेका छैनौं,’ उनले भनिन्, ‘एउटै मात्र परिवर्तन भनेको माथिल्लो तलाको झ्यालमा खापा राखेका छौं। चराहरूले फोहोर बनाउने हुँदा र पाटीको सुरक्षा निम्ति झ्याल परिवर्तन गरेका हौं।’

बनेपाको सेतोपाटी त्यति बेला बनेको हो, जति बेला काठमाडौंबाहेक अन्त सडक बनेको थिएन। हिँडेर काठमाडौं आउने पूर्वेलीहरू सिन्धुली हुँदै काभ्रे निस्केर बनेपा-भक्तपुर बाटो प्रयोग गर्थे। उपत्यका खाल्डो छिर्नुअघि बनेपामा बास बस्ने चलन थियो।

लामो उकालो उक्लिएर आएकाहरू बनेपामा एक रात थकाइ मारेपछि भोलिपल्ट सबेरै साँगा भञ्ज्याङ नाघेर काठमाडौं खाल्डो झर्थे।

तिनै पैदल यात्रुलाई बास बस्न सहज होस् भनी आजभन्दा ११० वर्षअगाडि बनेपाका व्यापारी हरिभक्त बादे र उनका दाइ कृष्णभक्त बादेले आफ्नै निजी जग्गामा यो पाटी निर्माण गराएका थिए। चुनाको सेतो रङ लगाइएकाले यसको नाम नै सेतोपाटी रहेको थियो। कसै-कसैले ‘पुतलीपाटी’ पनि भन्छन्।

यसलाई पुतलीपाटी भन्नुको पनि कारण छ। पाटीका दुई मोहडामा महिलाका आकृति कुँदिएका कलाकृति छन्। तिनै आकृति हेरेर पुतली पाटी नाम रहेको स्थानीय बताउँछन्।

तत्कालीन समय ठूलो धनराशि खर्च गरेर बनाइएको दुईतले पाटी देशभर प्रख्यात थियो। आठ मिटर लम्बाइ र पाँच मिटर चौडाइको यो पाटीमा पाकेको इँटाले गारो लगाइएको छ।

कलात्मक खापा, आधा दर्जन झ्याल र भित्रपट्टि सामान राख्ने तखता यसका विशेषता हुन्। बाहिरी भित्तामा सिंह, चराचुरूंगी तथा प्रतीकात्मक बुट्टाले सेतोपाटी आकर्षक बनेको छ।

बादे दाजुभाइले पैदलयात्रुलाई बास बस्ने प्रयोजनका लागि निर्माण गराए पनि अहिलको अवस्थामा त्यही रूपमा अगाडि बढाउन नमिल्ने वडाध्यक्ष चन्द्रबहादुर खड्का बताउँछन्।

‘पहिला जसरी प्रयोगमा आउँथ्यो त्यसरी नै पाटी प्रयोग गर्न सम्भव छैन। त्यसो गर्ने हो भने संरक्षण गर्न गाह्रो हुन्छ। अर्को कुरा, पुरातत्व विभागले हामीलाई सेतोपाटी हस्तान्तरण गरिसकेको छैन। त्यसैले यसलाई कसरी प्रयोग गर्ने भन्नेबारे छलफल गरिसकेका छैनौं,’ उनले भने।

हस्तान्तरणपछि नगरपालिका र स्थानीय बसेर यसबारे छलफल गरिने उनले बताए।

हामीले वडाध्यक्ष खड्कासँग तपाईंको आफ्नो योजना के छ त भन्ने प्रश्न गरेका थियौं। उनले पाटीमा कम्प्युटर सुविधासहितको पुस्तकालय बनाउने योजना सुनाए।

नवनिर्मित बनेपाको सेतोपाटी। तस्बिरः निर्भिकजंग रायमाझी
‘तल्लो तलामा लाइब्रेरी र माथिल्लो तहमा मिटिङ गर्ने ठाउँ बनाउने योजना छ। लाइब्रेरीमा नयाँ पुस्ता र पुरानो पुस्ता दुवैलाई नयाँ प्रविधि सिक्ने वातावरण बनाउन सकियो भने राम्रो हुन्छ,’ उनले भने, ‘यसबारे छलफल गर्न बाँकी भएकाले उपयुक्त के हुन्छ, हामी त्यही निर्णय गर्छौं।’

कतिपय स्थानीयले सय वर्ष पुरानो ऐतिहासिक पाटी भएकाले यहाँ संग्रहालय बनाउनुपर्ने सुझाव पनि दिएका छन्।

पाटीसहित करिब सात आना सार्वजनिक जग्गा रहेको यो क्षेत्रमा केही समयअघि जग्गाको विवाद आएको थियो। यसबारे बुझ्न खोज्दा खड्काले अनभिज्ञता जनाए।

‘हामीलाई थाहा भएअनुसार पाटीको जग्गा पाटी निर्माणमै प्रयोग भएको छ। जग्गाको विषयमा वादविवाद भएको मलाई थाहा भएन,’ उनले भने, ‘थप जग्गा भए/नभएको पनि नापी-नक्सामा हेरेको छैन।’

पुरातत्व विभागले सेतोपाटी संरक्षण गर्न चार वर्षअघि नै बनेपा नगरपालिकालाई ताकेता गरेको थियो। बनेपा नगरपालिकाले पनि निर्देशिका जारी गरेर ऐतिहासिक सम्पदा संरक्षण गर्न कार्ययोजना बनाउने जानकारी दिएको थियो।

त्यसपछि नगरपालिकाको एउटा टोली बनेपा नगर क्षेत्रभित्रका ऐतिहासिक वस्तुहरूको खोजी गर्न निस्केको थियो। बजेट विनियोजन नहुँदा पुनर्निर्माण अगाडि बढ्न सकेको थिएन। पूर्वसञ्चारमन्त्री तथा काभ्रे क्षेत्र नम्बर २ का सांसद गोकुल बाँस्कोटाको पहलमा सेतोपाटी पुनर्निर्माण सुरू भएको हो।

पाटीसँगै रहेको ढुंगेधारा पनि ‘रेट्रोफिट’ गरिएको छ। यसका लागि धेरैजसो पुरानै ढुंगा र केही अन्य ढुंगा प्रयोग गरिएको पुरातत्व विभागकी शाक्यले बताइन्।

पुनर्निर्माणमा ५८ लाख रूपैयाँ खर्च भएको विभागले जनाएको छ। छिट्टै स्थानीयलाई हस्तान्तरण गर्ने योजना छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]