अमरगढी – जंगली जनावरका लागि भनेर थापिएको भरुवा बन्दुकको पासोमा परेर डडेलधुरामा १ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गन्यापधुरा गाउँपालिका–४ का ४५ वर्षीय दलबहादुर पान रहेका छन्।
मंगलबार राति गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जंगली जनावर मार्नका लागि थापेको पासोमा परेर पानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्र पालले जानकारी दिए।
भरुवा बन्दुकको गोली लागेर घाइते भएका दलबहादुरको डडेलधुरा अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको डीएसपी पालले बताए।
भरुवा बन्दुकको पासो कसले राखेको हो भन्ने नखुलेको र त्यसबारेमा अनुसन्धान भइरहेको पालले जानकारी दिए।
घटनाको अनुसन्धानका लागि भन्दै प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरिएको छैन।