
काठमाडौँ – निजी मेडिकलले असुलेको अवैध शुल्क विवाद सुल्झाउन असफल काठमाडौं विश्वविद्यालय (केयू) ले बीएस्सी नर्सिङका विद्यार्थीसँग अतिरिक्त शुल्क उठाउन थालेको छ । केयुको स्कुल अफ मेडिकल साइन्सेजले बीएस्सी नर्सिङमा भर्ना भएका विद्यार्थीसँग रजिस्ट्रेसन, परीक्षा र फिल्ड भिजिट शीर्षकमा ९५ हजार रुपैयाँका दरले बढी शुल्क मागेको हो ।
एक अभिभावकका अनुसार केयूमा विश्वविद्यालय रजिस्ट्रेसनका लागि २५ हजार, परीक्षा शुल्क २४ हजार र फिल्ड भिजिट शुल्क ४६ हजार रुपैयाँ मागिएको छ । यी शीर्षकमा शुल्क लिन नपाइने चिकित्सा शिक्षा आयोगले जनाएको छ । तीनवर्षे बीएस्सी नर्सिङमा छात्रवृत्तिका सहित २६ विद्यार्थी गत मंसिरमा केयूमा भर्ना भएका छन् । छात्रवृत्तिमा पढ्ने विद्यार्थीसँग पनि अतिरिक्त शुल्क मागिएको ती अभिभावकले बताए ।
बीएस्सी नर्सिङका लागि १० लाख रुपैयाँ शिक्षण शुल्क तोकिएको छ । उक्त रकम विद्यार्थीले ३ वर्षसम्म किस्ताबन्दी प्रणालीबाट भुक्तानी गर्न सक्ने व्यवस्था छ । मेडिकल साइन्सेजले १० लाख रुपैयाँबाहेक पनि ९५ हजार रुपैयाँ थप रकम बुझाउन खबर गरेको एक विद्यार्थीले जनाए । साइन्सेजका डिन राजेन्द्र कोजुले आयोगले तोकेभन्दा बढी शुल्क नलिने जनाउँदै अतिरिक्त रकम मागेको विषयमा अनभिज्ञता बताए ।
१० विद्यार्थीद्वारा स्थानान्तरण माग
विराटनगरस्थित नोबेल मेडिकल कलेजका एमबीबीएसका १० छात्रछात्राले कलेज स्थानान्तरणको माग गरेका छन् । अतिरिक्त शुल्कविरुद्ध आन्दोलनको अगुवाइ गरेका उनीहरूले शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयसँग नोबेलमा अध्ययन गर्न नसक्ने बताएका हुन् । ‘बढी शुल्कको विरोध गरेका कारण शैक्षिक र सुरक्षाको वातावरण भएन,’ एक छात्राले भनिन् ।
नोबेलका प्रिन्सिपल रामहरि घिमिरेले आन्दोलनका क्रममा तोडफोडमा संलग्न विद्यार्थी लाजले नआएको बताए । ‘कलेजले सबै विद्यार्थीलाई शैक्षिक र सुरक्षाको प्रबन्ध मिलाउँछ,’ उनले भने ।