सप्तरी – सप्तकोशीमा बाँसको चेफामार्फत ल्याउँदै गरेको ४ सय किलोग्राम अवैध गाँजा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तकोशीमा बाँसको चेफामाथि राखेर ल्याउँदै गरेको प्रतिबन्ध लागुऔषध गाँजा बरामद गरेको सशस्त्रले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प रामपुरठोक्सिलाले सप्तकोशीस्थित बाँसको चेफामा बगि रहेको अवस्थामा ४ सय किलोग्राम गाँजा फेला पारेका हुन् । उदयपुर, खोटाङ, भोजपुर र धनकुटा क्षेत्रबाट दैनिकजसो बाँस चेफा ढुवानी हुने सप्तकोशीमा अवैध गाँजासमेत ओसारपसार हुने गरेको छ । आइतबार बिहान २ बजेतिर सप्तकोशीमा बिस्तारै बग्दै आएको बाँसको चेफामा बेवारिसे अवस्थामा गाँजा फेला पारेको शसस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प रामपुरठोक्सिलाका शसस्त्र प्रहरी निरीक्षक सुमन बुढाथोकीले जानकारी दिए ।
गाँजा पहाडी जिल्ला भोजपुरबाट ल्याएको हुन सक्ने अनुमान गरिएको छ । गाँजा मात्र फेला परेको र मान्छेहरु पत्ता नलागेको हुँदा खोजी कार्य र निगरानी गर्ने काम भइरहेको सशस्त्र प्रहरी बल ५ नम्बर गणका गणपति कृष्णराज अधिकारीले जानकारी दिए ।
सशस्त्र प्रहरी निरीक्षक बुढाथोकीको टोली फेला पारेको गाँजा गणमा ल्याई जिल्ला प्रहरी कार्यालय उदयपुरलाई बुझाइने उनले बताए । गाँजा ओसार्पसारमा संलग्नहरुको पहिचान नभए पनि खोजी जारी रहेको गणपति अधिकारीले बताए ।