२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण २७, २०७८

काठमाडौँ – लाजिम्पाटका मिलनमान श्रेष्ठको १० वर्षको कलिलो उमेरमै मिर्गौला फेल भयो । उनलाई २ वर्षको उमेरदेखि नै मिर्गौलामा समस्या देखिएको थियो । खाउँखाउँ–लाउँलाउँ भन्ने उमेरमा नै मिर्गौलाले काम गर्न छोडेपछि प्रत्यारोपण बाहेकको राम्रो चिकित्सकीय विकल्प थिएन । तर प्रत्यारोपणका लागि कुनै परिवारका सदस्यको मिर्गौला उनीसँग ‘म्याच’ भएन ।

ब्रेन डेथ भएका दाताहरुबाट मिर्गौला प्राप्त गरी स्वस्थ जीवन बाँचिरहेका वीरबहादुर मगर (बाँया) र मिलन श्रेष्ठ (दाँया) ।
प्रत्यारोपणको आशा मारेर डायलासिसको भर पर्न थालेका श्रेष्ठ परिवारमा ‘ब्रेन डेथ’ (मस्तिष्क मृत्यु) भएका बिरामीको परिवारले अंग दान गरे प्रत्यारोपणको विकल्प अझै बाँकी छ भन्ने थाह पाएपछि भने केही आश पलायो । त्यसबेला नेपालमा ब्रेन डेथ भएकाहरुले अंग दान गर्न पाउने सम्बन्धी व्यवस्था भर्खरै पारित भएको थियो ।

अहिले १९ वर्ष पुगेका मिलन आफूलाई भाग्यमानी ठान्छन् । किनकी ब्रेन डेथ भएका व्यक्तिबाट अंग प्राप्त गरेर मिर्गौला प्रत्यारोपण सम्भव भएका उनी नेपालकै पहिलो व्यक्ति हुन् । २०७४ वैशाख २८ गते १५ वर्षको उमेरमा हाल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका रुपमा नाम फेरिएको मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणको दिन सम्झिँदै भन्छन्– ‘मलाई त खुसी र डर दुवै लागेको थियो । नयाँ जीवन पाउन सफल भएँ । अहिले म स्वस्थ छु ।’

निकै फुर्तिलो देखिने हाल स्नातक दोस्रो वर्षमा अध्ययनरत छन् । ‘म आफ्नो पुनर्जीवनका लागि कृतज्ञ छु,’ उनले भने ।

कसैको मृत्यु भएपछि त्यसै खेर जाने अंग दान गरे त्यो प्राप्त गर्ने व्यक्तिले भने नयाँ जीवन पाउँछन् भन्ने उदाहरण हुन् मिलन । उनलाई फिक्कल गाउँपालिका खाङसाङ सिन्धुलीका ३० वर्षीय गोविन्दबहादुर भुजेलको मिर्गौला प्रत्यारोपण गरिएको थियो । निर्वाचन प्रचार-प्रसारको क्रममा सडक दुर्घटनामा परेपछि ‘ब्रेन डेथ’ भएका भुजेलको परिवारले ठूलो मन राखेर अंग दान गर्न राजी भएपछि नेपालमा पहिलो पटक यस प्रकारको प्रत्यारोपणको सुरुआत भएको हो । भुजेलले दान गरेको दुईवटा मिर्गौला मिलन र उपत्यका बाहिरका एकजना बिरामीमा सफल प्रत्यारोपण गरिएको थियो ।

‘कसैले ठूलो मन राखेर दिएको अंगका कारणले मैले सहज जीवन बाँचिरहेको छु । मरेपछि खेर जाने अंग दान गर्नु महान कार्य हो,’ उनले भने, ‘म पनि अन्त्यमा अंग दान गर्छु । यो मेरो अठोट हो । अरुलाई पनि अंग दान गर्न आग्रह गर्छु ।’

मिर्गौला दान गर्नेमा ७२ प्रतिशत महिला, पाउनेमा भने २२ प्रतिशत मात्र
इलामका ४८ वर्षीय वीरबहादुर मगर सिंगापुर प्रहरीबाट अवकाश प्राप्त व्यक्ति हुन् । २०६८ सालमा मिर्गौला फेल भएका उनलाई ०६९ चैत ७ गते सिंगापुरमै भाइले मिर्गौला दिए । तर, उक्त मिर्गौलाले केही सातापछि नै काम गर्न छोड्यो । उनी दुई वर्षपछि नेपाल फर्किए र डायलासिसको भरमा बाँच्न थाले ।

एकपटक परिवारको सदस्यबाट मिर्गौला पाइसकेका उनले ब्रेन डेथ भएका व्यक्तिबाट पनि अंग दान प्राप्त गर्न मिल्छ भन्ने थाहा पाएपछि सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्राप्त गर्नका लागि फारम भरे । कसैबाट मिर्गौला प्राप्त भइ हाल्छ कि भने आशा गरेको दुई वर्षपछि एकदिन एक्कासी अस्पतालबाट फोन आयो । त्यसबेला उनी डायलासिस गराइरहेका थिए । प्रत्यारोपण केन्द्रले कोरिया नेपाल मैत्री अस्पतालमा ब्रेन डेथ भएका ३२ वर्षका बिरामीको परिवार राजी भएपछि उनीसहित ३ जनाको परीक्षण गर्नका लागि अस्पताल बोलाएको थियो ।

ती व्यक्तिको मिर्गौला मगर र अर्का एक बिरामीलाई मिल्ने देखियो । दुवैको २०७५ माघ ३ गते मिर्गौला प्रत्यारोपण भयो । ‘मलाई अंग दिने व्यक्ति र उनको परिवारप्रति म सदैव कृतज्ञ रहने छु,’ मगरले भने ।

त्यो नेपालमा ब्रेन डेथ भएका व्यक्तिबाट गरिएको तेस्रो प्रत्यारोपण थियो । २०७५ माघ यता केन्द्रमा ब्रेन डेथ भएका बिरामीको सूचना आएपनि परिवारले नमानेका कारण त्यसपछि भने यस प्रकारको प्रत्यारोपण भइरहेको छैन ।

फागुन १८ गते शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा चाबहिलको दीर्घायु अस्पतालबाट एक बिरामीको मस्तिष्क मृत्यु भएको खबर आयो । अस्पतालको जानकारी अनुसार बिरामीको परिवारका सदस्यहरू अंग दान दिनका लागि तयार पनि भइसकेका थिए । यो सूचना पाएसँगै बिरामीको अंग प्राप्त गर्न केन्द्रको टोली त्यहाँ पुग्दा भने परिवारको मनस्थितिमा परिवर्तन भइसकेको थियो । बिरामीको आमाले अंग दान गर्न अस्वीकार गरेकी थिइन् । त्यसपछि टोली खाली हात फर्कियो ।

केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ कसैको मृत्युपछि खेर जाने अंगले अरुलाई नयाँ जीवन दिनसक्छ भन्ने कुरा बुझाउनै नसकिएको बताउँछन् ।

‘आफन्त गुमाएकाहरु यसै शोकमा हुन्छन् । त्यसमाथि अंग दिनुस्भन्दा पक्कै पनि अर्को अर्थले बुझ्न सक्छन् । अंगदान सम्बन्धी फारम पहिले नै भराउँदा यस्तो समस्या आउँदैन थियो होला,’ उनले भने, ‘९९ प्रतिशतलाई अंग दान बारे थाहा नै छैन । उस्तै पर्‍यो भने त अंग निकाल्नलाई नै पो मारेको हो कि भनेर शंका गरिएको पनि पाइन्छ ।’

विकसित मुलुकमा ८० प्रतिशत प्रत्यारोपण ब्रेन डेथ भएका व्यक्तिहरूबाट प्राप्त हुने अंगबाट गरिन्छ भने केवल २० प्रतिशतमात्रै जिवित दाता हुन्छन् । डा. श्रेष्ठकाअनुसार नेपालमा चिकित्सकहरु यसबारे जानकार भएपनि व्यवहारमा लागू गर्न भने कठिन मान्ने गरेका छन् ।

उनको भनाइमा स्थानीय तहमै यसबारे जनचेतना फैलाउन जरुरी छ । यस्तै केही व्यक्तिमा भने अंगदान गरे अर्को जुनीमा दान गरिएको अंगबिना जन्मिन्छ भन्ने अन्धविश्वासका कारण पनि ब्रेन डेथ भएकाहरुबाट अंग प्राप्त गर्न जटिलता थपिएको छ । ‘म मरेपछि मेरो अंगदान दिन्छु भनेर आजै मञ्जुरीनामा दिन मिल्छ । बस मनको कुरा हो । सहयोग गर्ने भावना हुनुपर्‍यो,’ उनले भने ।

केन्द्रका अनुसार हालसम्म विभिन्न अस्पतालबाट २१ पटकमात्रै ब्रेन डेथ भएका व्यक्तिहरूको सूचना आएको छ । जसमध्ये १६ जना ब्रेन डेथ भएका बिरामीले अंग दान गर्न अस्वीकार गरेका छन् । यस्तै केही केस भने ढिलो गरी खबर गरिएकाले प्रत्यारोपण गर्न मिल्ने अवस्था नबनेको केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ बताउँछन् ।

डा. श्रेष्ठका अनुसार सडक दुर्घटना लगायतको कारणबाट काठमाडौं उपत्यकामा मात्रै वर्सेनी करीब १००० जनाको ब्रेन डेथ हुने गर्दछ । जसबाट हजारौंको संख्यामा विभिन्न अंगहरु प्राप्त हुने सम्भावना रहन्छ । ‘पहिलो कुरा त हामी कहाँ ब्रेन डेथ भएका व्यक्तिहरुको सूचना नै कम आउँछ । सूचना प्राप्त भएको खण्डमा पनि बिरामीको आफन्तलाई अंग दान बारे सम्झाउन निकै गाह्रो हुन्छ,’ उनले भने ।

नेपाल प्रहरीको तथ्यांक अनुसार २०७७/७८ मा ९ हजार ५४५ वटा साना–ठूला दुर्घटनाहरु भएका छन् । चिकित्सकहरुका अनुसार गम्भिर प्रकृतिको दुर्घटनामा परेका आधाभन्दा बढीको ब्रेन डेथ हुने सम्भावना हुन्छ ।

नेपालमा १८ वर्षमाथिकाले अंगदान गर्न मिल्छ । अंग प्रत्यारोपण नियमित तथा निषेध ऐन २०५५ को संशोधन, २०७२ ले अंगदाताको दायरालाई केही फराकिलो बनाएको छ । जसका कारण नाता पर्ने सबैजसो व्यक्तिले आफ्ना परिवारका सदस्यलाई अंग दान दिन सक्छन् ।

मानव अंग प्रत्यारोपण ऐनले सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई ब्रेन डेथ भएका व्यक्तिबाट प्राप्त हुने अंग प्रत्यारोपणको समन्वय एकाई तोकिएको छ । केन्द्रका अनुसार २०७४ यता ब्रेन डेथ भएका ३ जनाबाट हालसम्म ६ जनामा मिर्गौला र १ जनामा कलेजो प्रत्यारोपण भइसकेको छ । दाताबाट अंग प्राप्त गर्नका लागि अहिले ६१३ जना पर्खाइमा छन् भने लगभग २३०० जनाले अंगदान गर्न फारम भरेका छन् ।

कुनै दुर्घटना वा मस्तिष्कघात, हृदयघात, मस्तिष्कको धमनीमा रगत जम्नुका साथै कुनै संक्रमण वा ब्रेन ट्युमरका कारण मस्तिष्कले सम्पूर्णरुपमा काम गर्न नसक्ने अवस्थामा पुगेमा त्यस्ता बिरामीलाई ‘ब्रेथ डेथ’ वा मस्तिष्क मृत्यु भएको भनेर बुझिन्छ । ब्रेन डेथ भएको यकिन भएका व्यक्तिहरु फेरि होसमा आउने सम्भावना रहँदैन र केवल मेसिनको साहयताले मात्रै उनीहरुको स्वासप्रस्वासलाई सुचारु राख्न सकिन्छ । त्यस्ता व्यक्तिको स्वस्थ अंग विभिन्न अंगले काम गर्न छोडेका बिरामीहरुमा सजिलै प्रत्यारोपित गर्न सकिन्छ ।

त्रिवि शिक्षण अस्पतालका न्यूरोसर्जन डा. गोपाल सेढाईका अनुसार बिरामीको मस्तिष्क कुनै हालतमा पनि अब काम गर्देन भन्ने चिकित्सकीय रुपमा पुष्टि भएपछि मात्र ब्रेन डेथ वा मस्तिष्क मृत्यु भएको घोषणा गरिन्छ । ‘कुनै बिरामीको मस्तिष्कले काम नगरेका कारण आफैं स्वासप्रस्वास गर्न सकेन तर शरीरका अन्य प्रणालीले भने मेसिनको साहयातामा काम गरिरहेको छ भने त्यस्ता बिरामीको अंग दान गर्न सकिन्छ,’ उनले भने । उनका अनुसार बिरामीको ब्रेन डेथ नै भएको हो वा होइन भन्ने यकिन गर्नका लागि भने ‘एप्निया टेस्ट’ गर्ने गरिन्छ ।

‘बिरामीलाई मेकानिकल भेन्टिलेटरबाट निकालेर सामान्य ट्युबबाट अक्सिजन दिइन्छ । बिरामीको शरीरमा कार्बनडाइअक्साइडको तह ६० भन्दा माथि पुग्दा बिरामीले स्वासप्रस्वासको कुनै पनि संकेत दिएन भने मस्तिष्क मृत्यु भएको यकिन हुन्छ,’ उनले भने, ‘त्यो भन्दाअघि आँखामा लाइट बालेर आँखाको नानी चलायमान भए/नभएको हेर्ने र कानमा पानी हालेर हेर्ने पनि गरिन्छ ।’

डा. सेढाईको अनुभवमा ब्रेन डेथ भएका व्यक्तिहरुले अंग दान गर्न सक्ने भनेर परिवारका सदस्यहरुलाई जानकारी दिने गरिएपनि मानवीय संवेदनाका कारण बुझाउन भने निकै कठिन हुन्छ । ‘परिवारका सदस्यहरू मरेको व्यक्तिको अंग के काम लाग्छ र यदी अंग काम लाग्छ भने त मरेको छैन कि भनेर सोच्नु हुन्छ । हामीलाई धेरै सोधिने प्रश्न पनि त्यही हो,’ उनले भने, ‘उहाँहरुलाई सो बिरामी मेसिनको साहयताले मात्रै स्वास फेरिरहेको र झिक्ने बित्तिकै मृत्यु हुन्छ भनेर त बुझाउने प्रयास हुन्छ । तर, अंग दान गर्ने हो भने मेसिन बन्द गर्नु अघि नै निर्णय गर्नुपर्छ जुन धेरै जसोले गर्न मान्नु हुन्न ।’

एकजना ब्रेन डेथ भएका व्यक्तिले कम्तीमा ८ वटा महत्त्वपूर्ण अंगहरु दान गर्न सक्छन् । त्यस्ता बिरामीबाट दुईवटा मिर्गौला, दुईवटा फोक्सो, मुटु, कलेजो, प्यान्क्रियाज (अग्नाशय), सानो आंद्रालगायत दुईवटा आाखाका नानी र छाला दानका रुपमा प्राप्त गर्न मिल्छ । प्रत्यारोपणका लागि कलेजोको समस्या भएका, एचआईभी एडस लगायतका केही संक्रामक रोगका साथै दीर्घरोगीहरुको अंग निकाल्न मिल्दैन । नेपालमा आँखाको नानी, मिर्गौला, कलेजो र छालाको प्रत्यारोपण हुने गरेको भएपनि मुटु, फोक्सो, प्यान्क्रियाज र सानो आन्द्राको प्रत्यारोपण भने गरिदैन ।

चिकित्सकका अनुसार ब्रेन डेथ भएका व्यक्तिहरुबाट प्राप्त मिर्गौला निकालेको २४ घण्टा भित्र, कलेजो १० देखि १२ घण्टा भित्र, मुटु र फोक्सो ४ देखि ६ घण्टा भित्र प्रत्यारोपित गरिसक्नुपर्छ । त्यसैले अस्पताल र प्रत्यारोपण केन्द्रबीच राम्रो समन्वय भए मात्रै ब्रेन डेथ भएका बिरामीले गरेको अंग दानले सार्थकता पाउँछ ।

नेपालमा अहिले सबैभन्दा धेरै गरिने अंग दानमा आँखाको नानी पर्छ । यो निकै सफल अंग दान कार्यक्रम हो । तिलगंगा आँखा अस्पतालस्थित आँखा बैंकका प्रबन्धक शंखनारायण त्वयनाका अनुसार २०५१ देखि हालसम्म १७ हजार ६५३ जनाले दानमा प्राप्त आँखाको नानीबाट नयाँ दृष्टि पाइसकेका छन् । यस्तै, ७९ हजार जनाले आँखा दानको घोषणा गरेका छन् ।

चिकित्सकहरुका अनुसार नेपालमा वार्षिक करिब ३ हजार जनाको मिर्गौला र १ हजार बढीको कलेजो फेल हुने गरेको छ । स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार हाल करिब ५ हजार मिर्गौला रोगीले निःशुल्क नियमित डायलसिस गराइरहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]