०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर २०, २०७७

सप्तरी – विश्वकै दुर्लभ एकसिङ्गे गैंडाको अस्वाभाविक प्राकृतिक मृत्यु र बढ्दो चोरी तस्करीबारे संसदीय समितिले सौराहामा छलफल गरिरहेकै बेला सोमबार फेरि अर्को एक गैंडा मरेको खबर आयो ।

चितवन राष्ट्रिय निकुञ्जको भित्री (कोर) इलाका रिउ र राप्ती नदीको दोभानको दक्षिण किनारमा ३५ वर्षको भाले गैंडा मृत फेला परेको थियो । खाग र खुर सुरक्षित रहेकाले सो गैंडा बुढो भएर कालगतिले मरेको अनुमान गरिएको छ । योसँगै चालु आर्थिक वर्षमा ४ गैंडा चोरी शिकारी र १३ गैंडा निकुञ्जले भन्ने गरेको ‘प्राकृतिक कारण’बाट मरेका छन् ।गैंडा धमाधम मर्न थालेपछि स्थलगत अध्ययनका लागि संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सौराहा आयो । समितिले गत आइतबार निकुञ्ज मुख्यालय कसरामा निकुञ्जका अधिकारी र सेनाका गणपतिसँग तथा सोमबार सौराहामा स्थानीय निकायका प्रतिनिधि तथा अन्य सरोकारवालसँग छलफल गर्‍यो ।समिति सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वको टोलीले गैंडा मर्ने र मार्ने क्रम बढेकाले यो निकै चिन्ताको विषय भएको भन्दै सुझावसहित सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । समिति सदस्य शान्ता चौधरीले गैंडाको सुरक्षाका लागि नीतिगत, कानुनी र अन्य केही समस्या भए जानकारी लिने र सरकारलाई आवश्यक निर्देशन तथा सुझाव दिने बताइन् ।निकुञ्जका अधिकारीहरुले आफ्ना समस्या, अहिलेको अवस्था, सुरक्षा र पोस्टहरुबारे संसदीय समितिका सदस्यहरुलाई जानकारी गराएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । समितिले समुदायको साथ लिएर गैंडा संरक्षणको योजना बनाउन निकुञ्ज प्रशासनलाई निर्देशन दिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले संसदीय समितिले संरक्षणमा सूचना र प्रविधिको प्रयोगमा ध्यान दिन, सुरक्षागस्ती बढाउन, पोस्ट तथा सुरक्षालाई कडा बनाउन निर्देशन दिएको बताए ।मंसिरको ११ गते चितवन राष्ट्रिय निकुञ्जले नवलपुरको कावासोती नगरपालिका वडा नं. १३ मा अवस्थित नमूना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा रहेको स्वर्गद्वारी घाट नजिक अन्दाजी ५ महिनाको पोथी गैडा मृत भेटायो । त्यसको दुई दिन पछि नै निकुञ्जको कोर ईलाका मरुठ खोलाको चुरे क्षेत्रमा घाँचबाट लडेको अवस्थामा २५ वर्षको भाले गैंडा मृत भेटियो । यीसँगै चालु आर्थिक वर्षको पाँच महिनाको अवधि चल्दै गर्दा निकुञ्जमा १७ गैंडा मरेका छन् ।

पाँच महिनाको अवधिमा प्रतिमहिना औसत ३ वटाभन्दा बढी गैंडा मरेको देखिएको छ । अघिल्ला चार वर्षमा गैंडा प्राकृतिक कारणले मात्रैं मरेको भनिएकोमा यस वर्ष भने गैंडालाई तस्करहरुले समेत मार्न थालेका छन् । २०७३ चैत २६ यता चोरी शिकारीबाट गैंडा मार्ने क्रम रोकिएकोमा फेरि तस्करले गैंडा मार्न थालेका छन् । चालु वर्षमा मात्रै ४ वटा गैंडा तस्करले मारेपछि निकुञ्जको सुरक्षामाथि गम्भिर प्रश्न उठन थालेको छ ।गएको भदौ १६ गते निकुञ्जभित्र गोली चलेको आवाज सुनियो । भदौ २१ गते निकुञ्जको पश्चिम क्षेत्र नवलपरासीको लौखानीमा रहेको पोष्टदेखिभित्र निकुञ्जको बाँदरझुला टापुमा अन्दाजी २०/२५ वर्ष जतिको भाले गैंडा मृत अवस्थामा भेटियो । गैंडाको टाउकोमा गोलीको घाउ थियो तर त्यसको खाग भने सुरक्षित थियो ।यसैगरी कात्तिक १८ गते मंगलबार सोही क्षेत्र नजिक एउटा पोथी गैंडा र उसको तीन वर्षको बच्चा मारेर तस्करहरुले खाग लगेको अवस्थामा भेटियो । गैंडाको माउ र बच्चाको शरीर सड्न लागेको थियो ।निकुञ्ज प्रशासन त्यतिबेला झस्याङ भयो, कात्तिक २१ मा एउटा खागविहीन मृत गैंडाको कंकाभेटियो । निकुञ्जको पश्चिम क्षेत्र भुसहरघाट नजिक भेटिएको गैंडालाई ५/६ महिनाअघि नै मारेर खाग लगेको थियो । लकडाउन सुरु भएसँगै गैंडा तस्कर निकुञ्जभित्र प्रवेश गरेर पुनः गैंडा मार्न सक्रिय भएको पुष्टि यसले गरेको देखिन्छ । भदौ १६ अघि नै निकुञ्जभित्र पसेर तस्कारले गैंडा मार्न थालेको यस घटनाले देखाएको छ ।भदौ २१ देखि कात्तिक २१ सम्म तस्करले मारेका चारवटा गैंडा भेटिए । तर घटनामा संलग्न वा आशंका गरिएका कोही पनि व्यक्तिलाई अहिलेसम्म पक्राउ गरिएको छैन । पछिल्लो समयमा गैंडाको प्राकृतिक भनिएको मृत्यु पनि शंकास्पद देखिन थालेका छन् । कलिला र वयस्क उमेरका गैंडा मारिन थालेपछि गैंडा संरक्षणमा गम्भिर चिन्ता थपिएको छ ।चितवन राष्ट्रिय निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरका अनुसार निकुञ्जको पश्चिम क्षेत्र बढी संवेदनशील मानिन्छ । भारतबाट समेत यता आएर गैंडा मारेर खाग लैजाने गरेको पाइन्छ चारवटा गैंडा मार्ने एउटै समूह थियो वा फरक भन्ने निर्क्यौल पनि हुन सकेको छैन । भदौ २१ मा मृत भेटिएको र कात्तिक १९ मा मृत भेटिएका माउ–बच्चा मार्ने एउटै समूह हुक्ने आंशका निकुञ्ज प्रशासनको छ ।

चितवनमा २०५८ सालपछि गैंडा चोरीसिकार निकै मौलायो । तस्करहरूले वर्ष दिनमा ३८ वटासम्म गैंडा मारे । निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरसहितको टोलीले गैंडा मार्ने तस्करको समूहलाई तहसनहस बनायो । कयौंलाई जेलमा पठायो । २०६० पछि धमाधम यस्ता तस्कर समातिए । गैंडा मारेको र तस्करीमा संलग्न भएको अभियोग लागेर पक्राउ परेकाहरु यतिबेला धमाधम छुटिरहेका छन् ।गैंडा मारे १५ वर्षसम्म कैद, १० लाख रूपैयाँसम्म जरिवाना वा कैद र जरिवाना दुवै हुने कानुनी व्यवस्था छ । गैंडा मार्नका लागि तस्करहरुले सिमान्तकृत जातीहरुलाई प्रयोग गर्ने गरेको पाइएको छ । तस्करीमा संलग्न भएर सजाय भुक्तान गरी छुटेकाहरू फेरि संगठित भएर गैंडा मार्ने काममा लागेका छन् की भन्ने आशंकासमेत निकुञ्जले गरेको छ । वैशाखयता मात्रै त्यस्ता ३० जना छुटेका छन् । केही कारागारमा नै छन् ।निकुञ्जका पूर्वसंरक्षण अधिकृत कमलजंग कुँवर, गैंडाको चोरी शिकारी बढ्नुमा निकुञ्जको सुराकी र सुरक्षा संयन्त्र फितलो भएको हुनसक्ने बताउँछन् । उनले कमजोर बनेको सुराकी र सुरक्षा संयन्त्रलाई बलियो र सक्रिय बनाउँदै समुदायको साथ लिनुपर्ने बताए ।निकुञ्जमा तस्करले गैंडा मार्न थालेपछि निकुञ्जलाई आफ्ना अनुभव र संरक्षणका केही टिप्सहरू दिन कुँवर केही दिनअघि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा आएका थिए । संरक्षणमा भएको ‘लुप होल’ का बारेमा तस्करहरू जानकार भएर गैंडामाथि आक्रमण गरेको हुनसक्ने कुँवरले बताए ।गैंडा मारेको अभियोगमा पक्राउ परेर सजाय भुक्तान गरिसकेका व्यक्तिहरु माथि निगरानी आवश्यक भएको उनको धारणा छ । ‘उनीहरूलाई निगरानी गर्दै कतै नयाँ समूहहरू तयार भएका छन् की भनेर सोच्ने र विष्लेषण गर्नुपर्दछ,’ कुँवर भन्छन्, ‘कुनै एक पाटोबाट मात्रै सोच्नुभन्दा धेरै कोणबाट सोच्नुपर्छ ।’उनले निकुञ्जको पश्चिम क्षेत्र बढी संवेदनशील भएको बताए । यहाँ भारतबाट समेत यता आएर गैंडा मारेर खाग लैजाने गरेको पाइन्छ ।निकुञ्जमा अनावश्यक झाडी बढ्नु, मिचाहा प्रजातीका घाँसहरुले निकुञ्ज ढाक्नु, ताल तलैया सुक्नु, गैंडा कुनै एक क्षेत्रमा मात्रै सीमित हुनु, बाढीमा बग्ने अवस्था आउनु जस्ता कारणले गैंडाको मृत्युदर बढाएकाले यसतर्फ पनि सोच्नुपर्ने बेला आएको कुँवरले बताए । उनले निकुञ्जमा काम गर्ने कर्मचारी, संरक्षणकर्मी र सुरक्षाकर्मीहरूको मनोबल गिराउने तथा राजनीतिक रुपमा विवादमा पार्ने काम भएकाले त्यसलाई तत्काल रोकिनुपर्ने बताए ।केही महिनाअघि माडीको कुसुमखोला सुकुम्वासी वस्ती जलाएको र निकुञ्जका सेनाको कुटाइबाट निकुञ्ज प्रवेश गरेका एक युवकको मृत्यु भएको भन्दै निकुञ्ज प्रशासनको चर्को आलोचना भएको थियो । सो घटनापछि निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रूपाखेतीको सरुवा गरिएको थियो भने कुटपिटमा संलग्न भनिएका एक सैनिक जवानलाई पक्राउ गरी थुनामा पठाइएको थियो ।

चोरीसिकार बढेपछि निकुञ्जभित्र सेना र निकुञ्जका कर्मचारीको गस्ती बढाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले बताए । तस्करहरूको चलखेल हुनसक्ने सम्भावित सबै स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको उनको भनाइ छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बराल भन्छन्, ‘निकुञ्ज सधैं सुरक्षा थ्रेटमा छ, ठूलो क्षेत्र घना जंगल छ, नारायणी नदीका ठूला भंगलाहरु छन्, सीमित पोष्ट र सुरक्षाकर्मी हुनहुुन्छ ।’निकुञ्जको सुरक्षा नेपाली सेनाको बटुकदल गणले गरेको छ । निकुञ्जभित्र ८ सय सैनिकले ४६ सुरक्षापोष्टमा बसेर निकुञ्जको सुरक्षा गरिरहेका छन् । निकुञ्जका ३ सय ६९ कर्मचारी कार्यरत छन् ।गैंडा तस्करीको मुद्दामा जेल सजाय भुक्तान गरेर निस्किएका परिवारका सदस्यहरुलाई बोलाउने र सम्झाउने, गतिविधिलाई निगरानी गर्ने काम निकुञ्जले गरिरहेको प्रमुख संरक्षण अधिकृत बरालले बताए । मध्यवर्ती क्षेत्रका वासिन्दालाई संरक्षणमा लाग्ने गरी सचेतना फैलाउने, सुरक्षा गस्ती बढाउनेलगायतका काम गरिरहेको छ । वर्षामा विस्थापित हुने सुरक्षा पोष्टहरुलाई स्थायी रुपमा व्यवस्थित गर्ने योजना निकुञ्जले बनाएको छ । वर्षा धेरै भएर पोस्टबाट सुरक्षाकर्मीहरू नदीवारी आएको मौका तस्करहरूले छोपेको हुनसक्ने विश्लेषण पनि गरिएको छ ।गैंडाको अध्ययन गर्न सहायक संरक्षण अधिकृत ऋषि रानाभाट संयोजकत्वको समितिले केही सुझावहरुसहित गत कात्तिक अन्तिम सातामा आफ्नो प्रतिवदेन बुझाएको छ । समितिमा जैविक विविधता संरक्षण केन्द्रका प्रमुखसमेत रहेका वन्यजन्तुविज्ञ बाबुराम लामिछाने र पशु चिकित्सक अमिर सडौला सदस्य थिए । समितिले गैंडाको प्राकृतिक मृत्यु बढ्नुको कारण, गैंडाको बासस्थल र आहारामा केन्द्रित भएर गरिने काम र सुरक्षाका विषयमा गर्न सकिने कामको सुझाव निकुञ्जलाई दिएको छ ।सो प्रतिवदेन संसदीय समितिले अध्ययन गरेपछि अवस्था बुझ्न चितवन आएको हो । समितिले पश्चिमी सेक्टरमा गैंडाको अधिक चापलाई कम गराउन पूर्वी क्षेत्रमा केही गैंडा सिफ्ट गर्नुपर्ने, बाढीबाट जोगाउन केही ठाउँमा माटोका अग्ला–अग्ला पहाड बनाउन, बर्खामा जान नसकिने पोष्टहरुलाई स्थायी प्रकृतिको बनाउन, सुरक्षा गस्ती बढाउने लगायतका सुझाव दिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।संसदीय समितिले अधिक संख्यामा गैंडा मरेकाले प्राकृतिक मृत्यु हो भनेर बस्न नहुने भन्दै चोरी–सिकार रोक्नका लागि ठोस पहल तत्काल चाल्न, विभिन्न प्रकोप, जलवायु परिवर्तन, आहारा र बासस्थानमा देखिएको समस्या समाधान गर्न पनि सुझाव दिएको छ ।हरेक चार–चार वर्षमा गैंडाको गणना गरिने भए पनि अघिल्लो वर्ष बजेट अभाव र गत वर्ष कोरोना भाइरस संक्रमणका कारणले गैंडा गणनाको कार्य हुन सकेन । तर यसपटक भने गैंडा गणना गरिने निकुञ्जले जनाएको छ ।पछिल्लो पटक सन् २०१५ (वि.सं.२०७१) मा गरिएको गैंडा गणनामा पर्सादेखि शुक्लाफाँटासम्मका चारवटा निकुञ्जमा ६४५ गैंडा भेटिएका थिए । गणनामा चितवन निकुञ्जमा सबैभन्दा बढी ६०५ गैंडा पाइएको थियो ।

त्यसबेलाको गणनाअनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा २९, शुक्लाफाँटा वन्यजन्तु आरक्षमा आठ र पर्सा वन्यजन्तु आरक्ष क्षेत्रमा तीन वटा गैंडा पाइएको थियो । विश्वमा भारतको काजिरंगा राष्ट्रिय निकुञ्जपछि चितवनमा सबैभन्दा बढी एकसिंगे गैंडा छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]