२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण २७, २०७८

संखुवासभा – बिहीबार बिहान साढे ७ बजेतिर मादी नगर प्रमुख विदुरकुमार लिंथेपले ओखरबोटे बजारबाट गुडेको बस दुर्घटनामा परेको खबर पाए । प्रहरी र स्थानीयसँगै हतार–हतार वडा ६ को सातघुम्ती पुग्दा बस करिब तीन सय मिटर तल खसेर टुक्रा–टुक्रा भएको देखे । गाडीको सिट माथिको भाग थिएन ।

यात्रु जताततै लडिरहेका थिए । त्यतिबेलासम्म अधिकांश यात्रुको ज्यान गइसकेको थियो । प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको उद्धारमा झन्डै २ घण्टामा घटनास्थलबाट १४ वटा शव संकलन भयो ।

संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको रेशम फिलिली नामको बा४ख ७३५ नम्बरको बस १५ मिनेट नगुड्दै सडकबाट खसेको हो । बसपार्कबाट ६ यात्रु लिएर बस गुडेको थियो । केही तल आएपछि ३ जना थपिए । पुलुङमा आएपछि बाँकी यात्रु राखेर अघि बढेको बस केहीबेरमै घुम्तीबाट खस्यो । ‘ओखरबोटेको बसपार्कबाट दुर्घटनास्थल करिब ७ किलोमिटर तल पर्छ,’ नगर प्रमुख लिंथेपले भने, ‘सजिलो बाटोबाट घुम्ती नकाटिँदा बस झरेको देखिन्छ ।’ उनका अनुसार सडक स्तरोन्नति गर्दा यहाँका सातवटा घुम्तीलाई काटेर पाँचवटा बनाइएको थियो । ‘सबैभन्दा माथिल्लो घुम्ती नै नकटेर सिधै भीरमा खसेको देखिन्छ,’ उनले भने । उनले स्टेयरिङ नकाटिँदा बस भीरमा खसेको अनुमान गरे । तीन महिनाअघि मात्रै कालोपत्र भएको यो सडकमा ठूलो दुर्घटना भएको थिएन ।

दुर्घटनामा मादीकै १२ जनाको मृत्यु भएको छ । संखुवासभा प्रहरीका डीएसपी लालध्वज सुवेदीका अनुसार सेनाको हेलिकोप्टरबाट धरान लगिएकी मादी–५ की युका पोखरेलको पनि उपचारका क्रममा मृत्यु भएको छ । घटनास्थलमै मृत्यु हुनेमा मादीकी सीता विक, अञ्जना कटुवाल, भवानीप्रसाद दाहाल, इन्द्र अधिकारी, दीक्षा कटुवाल, बलबहादुर कार्की, सविता कार्की, दीपककुमार दाहाल छन् । त्यस्तै, ताप्लेजुङकी समीक्षा योञ्जन, उनका छोरा सुदीप, मादीका श्याम शेर्पा, आइतबहादुर तामाङ, तेह्रथुमका चालक विपिन निरौला र मादीका सहचालक उमेश भट्टराईको मृत्यु भएको डीएसपी सुवेदीले बताए ।

घाइते डम्बरबहादुर कार्की, करिश्मा तामाङ, तुलसा कटुवाल र सुवास तामाङको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । १९ जना सवार बस ओरालो सडकमा धेरै घुम्ती भएकाले दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीको छ । ‘धेरै घुम्ती त्यसमा पनि तीव्र गतिमा गुडेकाले घुम्ती काट्न नसक्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरेका छौं,’ डीएसपी सुवेदीले भने, ‘पहिलो घुम्ती नकाटिई सिधै झरेको देखिन्छ, कालोपत्र भएपछि गाडी तीव्र गतिमा गुड्ने गरेका छन् ।’ नगर प्रमुख लिंथेपले घाइतेको उपचारमा कमी हुन नदिने बताए । ‘दुर्घटनामा बालबालिकादेखि वृद्धवृद्धासम्मले ज्यान गुमाएकाले हामी शोकमा छौं,’ उनले भने । मृतकहरूको शव प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा राखिएको छ ।

‘उछिट्टिएर बााच्यौं’

मादी–६ का ५० वर्षीय डम्बरबहादुर कार्की बिहीबारे हटिया भर्न तेह्रथुम हिँडेका थिए । उनी भगवती आधारभूत विद्यालयदेखि एक घुम्ती मास्तिरबाट बस चढे । एक किलोमिटर तल आएपछि पहिलो घुम्ती मोड्नेबित्तिकै गाडी बिग्रिएको जस्तो आवाज आयो । ‘प्लेन उड्ने बेलामा कराए जसरी आवाज आयो,’ उनले भने, ‘मैले गुरुजी तपाईंको गाडी के भयो, रोकेर हेर्नुहोस् भनें, त्यहींदेखि गाडी कन्ट्रोल गर्नर्र् सकेनन् ।’

कार्कीका अनुसार दोस्रो घुम्तीमा गाडी मोड्न नसक्दा सिधै खस्यो । ‘गाडी अनियन्त्रित हुन थालेपछि सिसा फुटाउने प्रयास गरें, नसकेपछि जुत्ता खोलेर झ्यालमा हानें तर फुटाउन सकिएन,’ उनले भने, ‘अब पक्कै मरिने भइयो भन्ने लागेर अगाडिको सिटलाई करप्प अँगालो हालें, गाडी सखुवाको रूखमा बज्रियो ।’ रूखमा गाडी ठोक्किएपछि उनी उछिट्टिएर बाहिर हुत्तिए । उनी खसेको ठाउँदेखि गाडी डेढ सय मिटर तल पुग्यो । ‘मेरो विचारमा गाडीको ब्रेक फेल भएर स्टेयरिङले कामै नगरेको भन्ने लाग्छ,’ उनले भने । उनी गाडी छिर्ने ढोकाको तीन सिट पछाडि चालकपट्टिको लाइनमा थिए ।

कार्की हटिया भर्न सातामा एक पटक सोही बसमा यात्रा गर्दै आएका थिए । प्रायःजसो उनी चालक नजिकै अगाडि बस्थे । बिहीबार पनि अगाडिको सिट खाली नै थियो । तर उनी भने पछाडि बसे । ‘आजचाहिँ दैव संजोग पर्‍यो,’ उनले भने, ‘अगाडि बसेको भए म सुरुमै जान्थें होला, खोइ किन हो आज पछाडि नै बस्न मन लाग्यो ।’ चालकको लापरबाहीभन्दा पनि इन्जिनले काम नगर्दा गाडी दुर्घटना भएको उनको भनाइ छ ।

भोजपुर गोगनेकी–१७ वर्षीया करिश्मा तामाङ पनि घाइते छिन् । उनी केही दिनअघि साथीहरूसँग मादीमा फुटबल प्रतियोगिता हेर्न गएकी थिइन् । साथीहरू प्रतियोगिता सकेर फर्किए, उनी मादीमै फुपू–फुपाजुको घरमा बसिन् । बिहीबार बिहान ७ बजे उनी बस चढेकी थिइन् । ‘हामी पछाडिको सिटमा थियौं, गाडी एकदमै स्पिडमा थियो,’ उनले भनिन्, ‘कसरी दुर्घटना पर्‍यो, मैले थाहै पाइनँ ।’ गाडीबाट उछिट्टिएको केहीबेरमा मात्र होस खुलेको उनले बताइन् ।

स्थानीय २४ वर्षीय सुवास गोले मादीको टिकट काउन्टरमा काम गर्थे । उनी पिलुवा खोलासम्मका लागि गाडी चढेका थिए । मादीदेखि पिलुवा खोला ३ किलोमिटर टाढा छ । उनका अनुसार चढेको एक घुम्ती परबाट गाडी अनियन्त्रित भएपछि चालक र सहचालक आत्तिएका थिए । ‘हाम्रो त बाटो पनि साँघुरो छ, टर्निङ घुमाउनै साह्रो छ भन्दै हुनुहुन्थ्यो,’ उनले भने, ‘म ढोकाबाट फाल हानें, दाइ हाम फालेको साइडमै गाडी पल्टियो, उहाँको मृत्यु भएछ ।’

घाइतेहरूको स्वास्थ्य अवस्थाबारे बुझ्न धरान आएका मादी नगर प्रमुख विदुरकुमार लिंथेपले घटना भएको अढाई घण्टापछि हेलिकोप्टर चार्टर गरेर मृतक र घाइतेको उद्धार गरिएको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]