झापा – झापाको बिर्तामोडमा एक युवक अर्धनग्न अवस्थामा मृत फेला परेका छन्।
इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका अनुसार केही समयअघि जर्मनीबाट फर्किएका ती युवक मृत फेला परेका हुन्।
बिर्तामोड ५ का २८ वर्षीय चीरञ्जीवी दाहाल घरको बन्द कोठामा मृत भेटिएका प्रहरीले जनाएको छ। कम्मरमाथिका कपडा खोलिएका र शरीर रगताम्य भएको अवस्थामा दाहालको शव भेटिएको हो।
घटनास्थलमा भान्छामा तरकारी काट्न प्रयोग गरिने छुरी पनि फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलका अनुसार आफैंले छुरी रोपेर दाहालले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरी उपरीक्षक पोखरेलले थप अनुसन्धान भइरहेको जानकारी दिए।