काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक र राजनैतिक रुपान्तरणका लागि नेपाली महिलाको त्याग, तपस्या र बलिदानका बेग्लै कीर्तिमान कायम गरेको बताएका छन्। १२ औं अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) का अवसरमा शुभकामना दिँदै उनले जनयुद्धमा बनेका साहास र बलिदानी कीर्तिमान नेपालमा मात्र नभई विश्वभर चर्चा र प्रशंसाका विषय बनेको उल्लेख गरेका हुन्।
‘नेपाली सामाजिक र राजनैतिक रुपान्तरणका लागि नेपाली महिलाहरुले युगौंदेखि त्याग, तपस्या र बलिदानका बेग्लै कीर्तिमान कायम गरेका छन् ।’उनले भनेका छन्, ‘महिला दिदीबहिनीहरुको बलिदानीपूर्ण संघर्षका कारण पछिल्लो चरणमा महान् जनयुद्धमा बनेका साहास र बलिदानी कीर्तिमान नेपालमा मात्र नभई विश्वभर चर्चा र प्रशंसाका विषय बनेका छन् ।’
शुभकामना सन्देशमा आजको दिन विश्वभरका महिला दिदीबहिनीहरुको मात्र नभई सिंगो मानव समुदायकै लागि एउटा ऐतिहासिक दिन भएको उल्लेख छ । सन्देशमा भनिएको छ, ‘महिलाहरुको हक र अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा साँस्कृतिक विकासका लागि आवाज बुलन्द गरिएको संघर्षको दिन हो । मानव समुदायका सबै सामाजिक र राजनैतिक परिवर्तन र संघर्षमा महिला समुदायको सक्रिय सहभागिता र भूमिकाले नै विश्व सभ्यता यहाँसम्म आइपुगेको हो ।’
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले वर्तमान संविधानले महिलाहरुलाई धेरै हदसम्म अधिकार सम्पन्न बनाएको उल्लेख गरेका छन् । ‘२१ औं शताब्दीमा पनि महिलामाथि हुने सबैप्रकारका हिंसा र उत्पीडनलाई निर्मूल गरी समानता र न्यायका लागि संवैधानिक, कानूनी र व्यवहारिकरुपमा प्राप्त अधिकारको पूर्ण कार्यान्वयन तथा थप अधिकारका लागि संघर्षरत रहन सम्पूर्ण महिला दिदीबहिनीहरुमा हार्दिक अपील गर्दछु’, सन्देशमा भनिएको छ।