काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले आफू पार्टी सिद्धान्त अनुरुप उभिएको बताएका छन्। पार्टी अध्यक्ष केपी ओली शर्माले दलीय निर्णय विपरीत रावलले संसदीय प्रक्रियामा भाग लिएको भन्दै असन्तुष्टि जनाएका थिए।
एमसीसीबारे धारणा सार्वजनिक कार्यक्रममा मंगलबार ओलीले रावलले पार्टीको सल्लाहविपरीत संसदीय प्रक्रियामा भाग लिएको, एमसीसी सम्झौताबारे अभिव्यक्ति दिएको भन्दै अनुशासनहीन क्रियाकलाप गरेको प्रतिक्रिया दिएका थिए।
अध्यक्ष ओलीलाई जवाफ दिँदै रावलले आफू पार्टी सिद्धान्त अनुरुप उभिएको र संसदमा छलफलमा सहभागी हुन नदिनु आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त र नीतिविपरीत भनेका छन्।
‘एमालेको विधान, प्रतिवेदन र संगठनात्मक प्रस्तावले एमसीसीसंगको सम्झौताबारे स्पष्ट धारणा बनाई राष्ट्रिय हितको पक्षमा उभिन निर्देशित गर्दछ । संसदमा छलफलमा सहभागी हुननदिनु आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त, र नीति विपरीत हो ,’ उनले ट्वीटमा लेखेका छन्,’ म पार्टी सिद्धान्त अनुरुप उभिएको छु।’
पार्टीको सल्लाहकार परिषद् सदस्यसमेत रहेका रावलले एमसीसीमाथि छलफलमा भाग लिएका थिए । उनले एमसीसी सम्झौता संविधान विपरीत रहेको बताउँदै पारित भए नेपाल उपेनिवेशीकरणको बाटोमा जाने बताएका थिए।
दलीय निर्णय विपरीत संसदीय प्रक्रियामा भाग लिएको भन्दै रावलप्रति ओली रुष्ट बनेका छन्।