काठमाडौं – अमेरिकाले रुसी विमानलाई आफ्नो हवाइ क्षेत्र प्रवेशमा रोक लगाउने घोषणा गरेको छ।
संसद बैठकमा सम्बोधन गर्दै राष्ट्रपति जो बाइडेनले रुसको व्यवसायिक तथा निजी सबै प्रकारका विमानलाई आफ्ना हवाइ क्षेत्र प्रवेशमा रोक लगाउने घोषणा गरेका हुन्।
युरोपेली देश र क्यानडाले यसअघि नै आफ्नो हवाइ क्षेत्र रुसका लागि बन्द गरिएको घोषणा गरिसकेका छन्। यो प्रतिबन्धले रुसलाई अझ एक्लो पार्ने र अर्थव्यवस्थामा दबाब पैदा गर्ने बाइडेनको भनाइ छ।
बाइडेनले रुसी मुद्रा रुबल ३० प्रतिशत र शेयर बजारमा ४० प्रतिशतले गिरावट आइसकेको उल्लेख गरे। बाइडेनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सुरक्षा ट्यांकले किभलाई घेराबन्दी गरे पनि युक्रेनी नागरिकको मन–मुटु जित्न नसक्ने टिप्पणी पनि गरे। रुसले यसको जवाफ कसरी दिन्छ भन्नेबारे मुख खोलेको छैन।
यसैबीच, अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पलले पनि आफ्ना सबै उत्पादन रुसमा बिक्री गर्न प्रतिबन्ध लगाएको छ। यसका साथै रुसमा एप्पल पे र एप्पल म्याप जस्ता सेवा पनि सिमित गरिएको कम्पनीले जनाएको छ। युक्रेनमाथि आक्रमण गरेपछि रुसविरुद्ध यस्तो कदम चाल्ने एप्पल सबैभन्दा ठूला कम्पनीमध्ये एक हो। उर्जा कम्पनी एक्सन मोबिलले पनि रुसमा आफ्नो कामबन्द गर्ने र लगानी रोक्ने घोषणा गरेको छ।