
सप्तरी – शिवरात्रिको अवसर पारेर काठमाडौंको नवजीवन युवा क्लब र वातावरणमैत्री समाजले संयुक्त रूपमा रक्तदान कार्यक्रम गरेका छन् । सिफलमा शनिबार राखिएको कार्यक्रममा ६० जनाले रगत दान गरेका क्लबका अध्यक्ष प्रतीक श्रेष्ठले जानकारी दिए । आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने योजना उनले सुनाए ।
वातावरणमैत्री समाजका अध्यक्ष राधेश्याम मिश्रले कोरोना महामारीको असरले अस्पतालहरूमा रगत अभाव भएकाले संकलित रगतबाट बिरामीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पुगेका एमाले नेता राजन भट्टराईले सेवमुखी काममा युवाहरूको सक्रियताको प्रसंशा गरे । ‘अस्पतालमा कतिपय बिरामी रगत नपाएर तड्पिरहेका बेला तपाईंहरूले संकलन गरेको रगतले उनीहरूको ज्यान बचाउन सक्छ । आगामी दिनमा पनि परोपकारका यस्ता कामलाई निरन्तरता दिनुहोला’, भट्टराईले भने ।
समाजका अध्यक्ष मिश्रले यो आफूहरूको पाँचौँ रक्तदान कार्यक्रम भएको बताए ।