सप्तरी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)कै कारण शान्ति सम्झौता दुर्घटनामा पर्ने, संविधान डिरेल हुने र गठबन्धन टुट्यो भने धेरै चिज उल्टिने खतरा देखेपछि बीचको बाटो खोजेर एमसीसी अनुमोदन गरेको बताएका छन् ।
आज उनले आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन आयोजन गरेर एमसीसी अनुमोदनको क्रममा भएको रस्साकस्सी र पहलकदमीको फेहरिस्त सुनाएका थिए ।
आफ्नै पार्टीको नेतृत्वमा सरकार हुँदा एमसीसी अघि बढाएको तर, प्रदीप ज्ञवाली अमेरिका भ्रमणमा गएको बेला नेपाल पनि इन्डो प्यासिफिक रणनीतिको सदस्य भएको समाचार सार्वजनिक भएपछि एमसीसीमा विवाद शुरू भएको दाहालले बताए ।
तत्कालीन नेकपामा आफैंले एमसीसीबारे अध्ययन गर्न कार्यदल बनाएको र कार्यदलले केही महत्त्वपूर्ण विषयमा संशोधन नगरी अनुमोदन गर्न नहुने सुझाव दिएपछि एमसीसीबारे बहस सतहमा आएको उनले बताए ।
‘तत्कालीन प्रधानमन्त्री केपी ओली जसरी पनि एमसीसी अनुमोदन गर्ने पक्षमा थिए । मैले नै केही संकल्प प्रस्तावसहित अनुमोदन गरौँ भनेको थिएँ । त्यसबेला विपक्षी दल रहेको कांग्रेस सभापति पनि यसमा सहमत नै हुनुहुन्थ्यो तर, केपी ओली जस्ताको तस्तै पारित गर्ने पक्षमा भएकाले प्रस्ताव अघि बढ्न सकेन,’ प्रचण्डले भने ।
तत्कालीन नेकपाको केन्द्रीय सचिवालयको ९ जना सदस्यमध्ये ७ जना संकल्प प्रस्तावसहित अघि बढाउने पक्षमा हुँदा पनि ओलीसहित दुई जना भने जस्ताको तस्तै अनुमोदन गराउने पक्षमा रहेको प्रचण्डले बताए ।
देशलाई दुर्घटनामा जान नदिनको लागि व्याख्यात्मक घोषणा गरेर एमसीसी अनुमोदनको लागि पार्टीमा निर्णय गराएको उनले बताए ।
एमसीसीका विषयमा लामो विवाद र छलफल भएपछि गठबन्धनमा ‘असहमत हुन सहमत हुने’ सहमति गरेको तर, त्यसले काम नगरेको पनि उनले बताए ।
‘हामीले एग्री टू डिसएसग्रीको सहमति गरेका थियौं । तर, त्यसले काम गरेन । सरकार बदल्ने, गठबन्धन भत्काउने प्रयास हुन थाल्यो । त्यसलाई रोक्न पनि कुनै न कुनै उपाय निकालेर एमसीसी अनुमोदन गनुपर्ने अवस्था आयो,’ प्रचण्डले भनेका छन् ।
संयुक्त राष्ट्र संघको पूर्व महासचिव डा. अर्जुनबहादुर थापासँगको परामर्शपछि व्याख्यात्मक घोषणा संसदबाट पारित गरेर एमसीसी अनुमोदन गराउने निष्कर्षमा पुगेको पनि प्रचण्डले बताए ।
डा. थापासँगको छलफलबाट भियना कन्भेन्सनअनुसार एउटा पक्षले आधिकारिक रूपमा गरेको व्याख्यात्मक घोषणालाई अर्को पक्षले स्वीकार गर्नुपर्ने प्रावधान रहेको बुझेपछि व्याख्यात्मक घोषणाको पक्ष लिएको उनले प्रस्ट्याए ।
एमसीसी अनुमोदन भएपछि देश दुर्घटनाबाट बचेको भनेर खुशी लागेको प्रचण्डले बताएका छन् ।
एमसीसीमा राष्ट्रिय सहमति बनोस् भनेर पहल गर्दा आफ्नो विद्रुपीकरण गरिएको भन्दै प्रचण्डले गुनासो पनि गरेका छन् । ‘एमसीसीकै कारण संविधान र लोकतन्त्र नै खतरामा पर्ने चित्र देखेपछि राष्ट्रिय सहमति बनाउने प्रयासमा लागेको थिए । सबैको बीचमा समझदारी बनाउने प्रयासलाई विद्रुपीकरण गरियो,’ उनले भने ।
गठबन्धनको सरकार बनेर काम गर्न थालेपछि निर्वाचनसम्म सहज रुपमा जान्छ भन्ने अपेक्षा गरिएको तर, बीचमा एमसीसीको कारण समस्या सिर्जना गरिएको उनले बताए ।
राष्ट्रिय सहमति बनाउनकै लागि प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमा बोलाएर छलफल गरेको र आफैंले प्रधानमन्त्रीलाई बालकोटसमेत पठाएको प्रचण्डले पत्रकार सम्मेलनमा बताएका छन् ।
‘एमसीसीको कारण दल, समाज र राष्ट्र नै विभाजित अवस्था आयो । राष्ट्रिय सहमति बनाऔं भन्ने प्रस्ताव राखेको हो । प्रधानमन्त्री पनि सहमत नै थिए । तर, प्रतिपक्ष नआएपछि टुंगोमा पुग्न सकेन,’ प्रचण्डले भने, ‘प्रधानमन्त्रीलाई बालकोट गएर भए पनि कुरा गर्नुस् भनेर सुझाव दिएको थिएँ ।’