जनकपुरधाम – संयुक्त अरब इमिरेट्समा वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका नेपाली नागरिक योगेन्द्र भेडिहरको परिवारलाई मधेशी एकता समाजले १ लाख ५० हजार आर्थिक सहयोग गरेको छ ।
समाजको नेपाल इकाईकी अध्यक्ष डा. बबीसिंह यादवले धनुषा जिल्लाको सबैला नगरपालिका–१२ रघुनाथपुर स्थित मृतक भेडिहरको घरमा पुगेर आर्थिक सहयोग हस्तान्तरण गरेकी छिन् । अध्यक्ष डा. यादवले मृतककी पत्नी रुबी राउतलाई एक लाख ४० हजारको चेक र १० हजार नगद हस्तान्तरण गरिन् । मृतकको श्रीमति र नौ महिनाकी एउटी छोरी छन भने परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको छ । समाजका अध्यक्ष डा. रविन्द्र कुमार यादवका अनुसार मृतकको शवलाई नेपाल फर्काउने काममा समेत समाजले आर्थिक सहयोग गरेको थियो ।
मधेशी एकता समाज संसारभरि छरिएर रहेका नेपालका मधेशी प्रवासीहरुमाझ एकताको भावनालाई सञ्चार गर्दै उनीहरुको सुख दुःखमा साथ दिने उद्देश्यका ईश्वी सम्वत् २०२१मा स्थापना भएको हो । मृतक भेडिहार भ्रमण भीसामा युएई गएका थिए । भ्रमण भीसामै रहेको बेला उनले जागिर पाए । तर श्रम स्वीकृति र जीवन बीमासहित अन्य जरुरी कागजात नहुँदा उनी समस्यामा परेका थिए । सधैंझैं कामबाट फर्किएर राति सुत्न गएका भेडिहरको पुस ५ गते राती निन्द्रामै मृत्यु भएको थियो । कागज दुरुस्त नभएकोले उनको शवलाई नेपाल फर्काउन विभिन्न समस्याहरुको सामना गर्नु परेको समाजले जनाएको छ ।