
महोत्तरी – महोत्तरीको बर्दिवासमा एमसीसीको विरोधमा विभिन्न राजनीतिक दल र स्थानीयले प्रदर्शन गरेका छन् । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा (एमाले) लगायतका राजनीतिक दल सम्मिलित नेता, कार्यकर्ता र स्थानीय युवाले स्वस्फूर्त एमसीसीको विरोधमा नारा जुलुस गर्दै बजार परिक्रमा गरेका छन् ।
देशको हितविपरीत भएकाले एमसीसी कुनै हालतमा पास गर्न नदिने प्रदर्शनकारीले बताएका छन् । उनीहरुले ‘राष्ट्रघाती एमसीसी चाहिँदैन’, ‘विदेशी दलाल होसियार’, ‘राष्ट्रप्रेमी जनता एक हौं’ लगायत नारा लगाएका छन् ।
कोही कसैको दबाबमा नभएर स्वस्फुर्त राष्ट्रको हितका लागि विरोधमा उत्रिएको बर्दिवास १ का निरोज अधिकारीले बताए । प्रत्येक दिन विरोधमा उत्रिएर एमसीसीविरुद्ध आन्दोलन गर्ने र कुनै हालतमा एमसीसी पास गर्न नदिन दबाब दिने कार्यक्रम रहेको अधिकारीले बताए ।
राजनीति र पार्टीभन्दा माथि उठेर बर्दिवासका आमजनता राष्ट्रहितका लागि एमसीसीको विरोधमा उत्रिएका र बर्दिवास ६ किसाननगरकी रिता भट्टराईले बताइन् । देशको हितका लागि जस्तोसुकै कठोर कदम चाल्नपरे पनि तयार रहेको तर एमसीसी पास हुनु हुँदैन भन्ने आफूहरुको जोडदार माग रहेको विरोधमा उत्रिएका बलिदान श्रेष्ठले बताए । प्रर्दशनकारीले हरेक दिन १ घण्टा बर्दिवासमा आन्दोलनको कार्यक्रम राखेका छन् ।