सप्तरी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुरको युद्धमा पृथ्वीनारायण शाहले कसैको पनि नाक नकाटेको दाबी गरेका छन्।
आइतवार दहचोकमा आयोजित कविता वाचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
वि.सं. १८२२ चैतमा पृथ्वीनारायणले कीर्तिपुर लडाइँ जितेपछि त्यहाँका नेवारहरुको नाक र ओठ काटेको आरोप लाग्दै आएको छ।
‘कीर्तिपुरमा कसैको नाक काटिएको थिएन। युद्ध जितिसकेपछि कुनै पनि शासकले त्यहाँको जनताको, त्यहाँका रैतीको नाक काट्दै हिँड्दैन’, उनले भने, ‘जितिसकेपछि पनि त्यहाँका जनतालाई दु:ख दिँदै हिँड्ने कुरा हुँदैन।’
उनले पृथ्वीनारायणको जिद्धीकै कारण तत्कालीन सेनापति कालु पाण्डे कीर्तिपुरको लडाइँमा मारिएको पनि बताएका छन्। सेनापतिको कुरा नमान्दा पृथ्वीनारायण पनि गिरफ्तारीमा परेको तर्क उनले गरे।