काठमाडौं – अमेरिकी संस्था एमसीसीसँग भएको सम्झौता अनुमोदनको विषय चर्किएसँगै जनता समाजवादी पार्टी (जसपा) फुटको अन्तिम संघारमा पुगेको छ ।
जसको बाबुराम भट्टराई समूहले केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन गरेको छ भने उपेन्द्र यादव समूहले फागुन १३ मा कार्यसमितिको बैठक बोलाएको छ ।
एमसीसी पास गर्न भट्टराई खुलेर लागेका छन् भने यादव मौन देखिन्छन् । भारत एमसीसी पास गर्ने कुरामा सकारात्मक नहुँदा नेपालका मधेसी नेताहरु पनि खुलेर एमसीसीको पक्षमा लागेको देखिन्न । एमसीसी पेचिलो विषय बन्दै जाँदा जसपामा यसको गम्भीर असर परेको हो । सोही पार्टीका अशोक राईले सार्वजनिकरुपमै एमसीसी पास गर्ने पक्षमा आफूहरु नरहेको बताइसकेका छन् ।
भट्टराई र यादवबीच पहिलेदेखि नै तुस बढ्दै गए पनि एमसीसीले गर्दा झन तिक्तता बढेको हो । भट्टराईले अशोक राईको समेत साथ लिएर पार्टीमा बहुमत जुटाउने र कार्यकारी अधिकार लिने प्रयासमा रहे पनि राई एमसीसीको विपक्षमा रहेकाले उनलाई नैतिक संकट परेको छ । भट्टराईले लामो समयदेखि कार्यसमितिको बैठक बोलाउन आग्रह गरे पनि यादवले टार्दै आएका थिए ।
अहिलेको अवस्था हेर्दा कार्यसमिति बैठकसम्मको मितिमा भट्टराई र यादव समूह विभाजनमा पुग्ने देखिन्छ । एमसीसीका कारण सिर्जित यस किसिमको समस्या अन्य दलमा पनि देखिन्छ । सत्तारुढ नेपाली कांग्रेसभित्र एमसीसी पास गर्न जोड बल गर्न नहुने पक्षमा रहेका धनराज गुरुङ, चन्द्र भण्डारीलगायतका थुप्रै नेतालाई अहिले सार्वजनिक प्रतिनिधि नदिन भनिएको छ । एमसीसीका कारण पार्टी खसाप हुनसक्ने चिन्ता धेरै कांग्रेसी नेता कार्यकर्तामा बढ्दै गएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि अहिले सोही समस्यामा छ । एमसीसी पास गर्नुपर्ने र गर्न नहुने पक्षको दुई धारलाई समन्वय गर्न सो पार्टीका अध्यक्ष केपी ओलीलाई कठिन भएको छ । आफू खुलेर एमसीसीको पक्ष वा विपक्षमा लाग्दा पार्टी फुटिहाल्ने जोखिमका कारण आली पछिल्ला दिनमा मौन देखिन्छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीमा पनि यस खालको जोखिम झन बढी देखिन्छ ।