०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ०९, २०७८

सप्तरी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेब्रअरी ५ मा हैदरावादस्थित एक मन्दिरमा रामानुजाचार्यको २१६ फिट अग्लो मूर्ति अनावरण गरे । मोदी सरकारले यसलाई ‘समताको मूर्ति’ नाम दिएको छ । प्रतिपक्षी कांग्रेस नेता राहुल गान्धीले मोदीको मूर्ति अभियानप्रति लक्षित गर्दै फेब्रुृअरी ९ मा ट्वीट गरे, ‘स्ट्याचु अफ इक्वालिटी चीनमा बनेको हो । नयाँ भारत चीनमा निर्भर छ ?’

गान्धीले मोदीप्रति आलोचना गर्नुका कारण हो ः रामानुजाचार्यको मूर्ति चीनको एरोसन कर्पोरेशनले बनाएको थियो । ‘मेक इन इन्डिया’ घोषणा गरेको भाजपा नेतृत्वको सरकारले मूर्तिसमेत चीनबाट आयात गर्ने स्थिति बन्नु मोदी राष्ट्रवादको ट्रयाजेडी (वियोग) हो ।

सरकारमाथि गान्धी खनिएपछि मोदी क्याबिनेटका संस्कृतिमन्त्री जी रेड्डीले पनि जवाफ फर्काए । उनले मोदी सरकार यो मूर्ति निर्माणमा सहभागी नै नभएको दाबी गरे । यो निजी प्रयास आठ वर्षअघि नै शुरू भएको भन्दै उनले मोदी सरकारले ‘आत्मनिर्भर भारत’ अभियान थाल्नुअघि नै मूर्तिको काम भएको जिकिर गरे ।

तर, यथार्थ रेड्डीले जिकिर गरेजस्तो छैन । किनकी चीनले भारतमा लक्ष्मीदेखि दुर्गासम्मको मूर्ति बेचिरहेको छ । परम्परागत दुश्मनी रहेको मुलुकमाथि कयौं मामिलामा निर्भर हुनु कूटनीतिक कमजोरी मानिन्छ । चीन र भारतको भूराजनीतिक सम्बन्ध यही हो । भारतले चीनलाई आफ्नो दुश्मन मानिरहँदा तीतो सत्य को हो भने धेरै हदसम्म भारत चीनप्रति निर्भर छ ।

विश्वका कैयन देशहरूले यतिखेर चीनप्रति निर्भरता घटाउने प्रयत्न गरिरहेका छन् । भारतले पनि प्रयास त गरिरहेको छ, त्यो प्रयासमै सीमित छ । २०१७ अगष्ट ३ मा डोक्लाम संकटबारे बोल्दै तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजले उप्रान्त भारत सामरिक पक्षबाट नभइ आर्थिक क्षमता बढाएर प्रस्तुत हुने बताएकी थिइन् ।

भारतको आर्थिक क्षमता बढिरहँदा चीनबाट निकै ठूलो लगानी आउने गरेको उनको भनाइ थियो । उनले त्यतिखेर भनेकी थिइन्, ‘२०१४ मे अघि चीनले भारतमा ११६ अर्ब डलर लगानी गरेको थियो, २०१७ मा १६० अर्ब डलर पुगिसकेको छ । चीनले भारतमा निकै ठूलो लगानी गरेको छ र उसलाई जोखिम पनि धेरै छ ।’

स्वराजले सामरिकको साटो आर्थिक क्षमता बढाउनुपर्ने कुरा २०१७ मा बताएकी थिइन् । तर, २०२० मा मोदी सरकारले लाइन अफ कन्ट्रोल (एलएसी) मा उल्टो कदम चाल्यो । दोक्लाम भिडन्तपश्चात भारतमा चिनियाँ लगानीमाथि निगरानी बढाइयो । तर, यसो गर्दा पनि भारतले चीनबाट सामान आयात घटाउन सकेन ।

कोरोना महामारी फैलिएपछि त चीनमाथि भारत झनै आश्रित हुन थाल्यो । किनकी, कोरोनाले वैश्विक आपूर्ति श्रृङ्खला खल्बलिएको थियो । हालै प्रकाशित व्यापार तथ्याङ्क हेर्दा त २०२१ मा भारतमा चीनबाट झनै धेरै सामान आयात भएको देखिएको छ । दुई देशबीच तनाव कायम रहेकै बेला चिनियाँ सामानको आयात बढ्नु राष्ट्रवादी मोदी सरकारका लागि शाख गिराउने विषय हो ।

चाइना जनरल एडमिनिष्ट्रेशन अफ कस्टम (जीएसी) ले जनवरीमा भारतसँग भएको व्यापार तथ्याङ्क जारी गरेको थियो । तथ्याङ्कमा उल्लेख भएअनुसार २०२१ मा भारतले चीनसँग १२५.६ अर्ब डलर बराबरको व्यापार गरेको थियो । भारत र चीनबीच व्यापार १०० अर्ब डलर नाघेको यो पहिलो पटक हो । यसमध्ये भारतले चीनबाट ९७.५ अर्ब डलर बराबरको आयात गरेको छ । चीनतर्फ भने २८ अर्ब डलर बराबरको मात्रै निर्यात गरेको छ ।

२०१९ को तुलनामा २०२० मा भारततर्फ चीनको व्यापार कोरोना महामारीका कारण घटेको थियो । तर, भारतले चीनबाट आयात निरन्तर गरिरह्यो । चीनसँगको व्यापारघाटा भारतका लागि पुरानो चिन्ता भए पनि यो घट्नुको साटो बढिरहेको छ । त्यसो त चीनसँग व्यापार घाटाको चिन्ता भारतसहित पूरै विश्वलाई परेको छ । संसार नै चीनमा निर्भर हुन थालेको छ ।

अमेरिकास्थित हार्वर्ड विजनेश स्कूलका प्राध्यापक विली शिहले यो स्थितिलाई अझ नजिकबाट नियालेका छन् । उनले अमेरिका र चीनको आपूर्ति शृङ्खलाबारे निकै लेखेको पनि छन् । २०२० अप्रिल २४ मा उनले लेखेका थिए, ‘उत्पादन मामिलामा पूरै विश्व चीनमाथि निर्भर छ । यस्तो निर्भरता स्वास्थ्य सामग्रीमा मात्र सीमित छैन । इलेक्ट्रोनिक्सदेखि खेलौना र अन्य सबै सामान गरी चीनले आधा ट्रिलियन बराबर निर्यात गर्छ । यदी कसैले चीनसँग टकराव लिन खोज्छ भने उसले त्यसका लागि तयारी पनि गर्नुपर्छ ।’

प्रतिशतमा हेर्दा पछिल्लो वर्षको तुलनामा भारत र चीनबीच आयात–निर्यात दुवै बढेको छ । तर, यसमा घाटाको सौदा भारतले नै गरिरहेको छ । व्यापार घाटाको मतलब हो – भारतले चीनबाट निकै धेरै खरिद गरिरहेको छ, तर चीनलाई कम सामान बेचिरहेको छ । भारतमा चीनबाट आयात ४६.२ प्रतिशत बढेको छ, जब कि निर्यात ३४.२ प्रतिशतमात्रै बढेको छ ।

भारतले चीनबाट इलेक्ट्रिक र मेकानिकल मेसिनरीमात्र होइन, कैयन प्रकारका केमिकल पनि खरिद गर्छ । चीनबाट आयात हुने केमिकल भारतको औषधि उत्पादक कम्पनीहरूका लागि महत्वपूर्ण छ । मोटरगाडीका कतिपय पाटपूर्जा र औषधिसमेत भारतले चीनबाट खरिद गर्ने गरेको छ ।

भारतको वाणिज्य मन्त्रालयका अनुसार २०२१ मा भारततर्फ माथि उल्लेखित सबै सामान आयात बढेको छ । चीनबाट ल्यापटप, कम्प्युटर, अक्सिजन कन्सन्ट्रेटरका अतिरिक्त एसिटिक एसिडको आयात पनि रेकर्ड तोडिनेगरी बढिरहेको छ । भारतबाट चीनतर्फ चामल, सागसब्जी, सोयाबिन, कपडा र समुद्री खाना निर्यात भइरहेको छ । चीनबाट तयारी सामान आयात गर्ने भारतले चीनतर्फ भने तयारी सामान बेच्दैन । कच्चापदार्थ नै पठाउँछ ।

चीनको सत्ताधारी कम्युनिष्ट पार्टीको मुखपत्र मानिने अंग्रेजी दैनिक ग्लोबल टाइम्सका अनुसार भारतको औषधि कम्पनीहरूमा प्रयोग हुने केमिकल र अन्य सामग्रीको ५० देखि ६० प्रतिशत हिस्सा चीनबाट नै जाने गरेको छ । २०२१ मा भारत चीनको १५ औं ठूलो व्यापार साझेदार बनेको छ ।

पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा पनि चीनसँग भारतको व्यापारघाटा लगातार बढिरहेको छ । २०१७ मा यस्तो घाटा ५१ अर्ब डलर रहेकोमा २०२१ मा ६९.४ अर्ब डलर पुगिसकेको छ । सीमामा तनाव हुँदा मिडिया खपतका लागि चिनियाँ सामान जलाउने गरेको भारत कसरी चीनमाथि नै निर्भर भइसकेको छ भन्ने पुष्टि यही स्थितिले गर्छ ।

२०२० अप्रिलमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा शुरू भएको सैन्य गतिरोधपश्चात भारतले चीनलाई स्पष्ट रूपमा सीमामा तनाव कायमै राखेर बाँकी सम्बन्ध सामान्य बनाउन नसकिने बताएको थियो । त्यसपछि भारतमा चिनियाँ लगानीमा पनि कमी आएको थियो, किनकी मोदी सरकारले विभिन्न प्रतिबन्धहरू लगाएको थियो । पाँचौं पुस्ताको इन्टरनेट (फाइभ–जी) परीक्षण क्रममा पनि भारत सरकारले चिनियाँ कम्पनीहरूलाई प्रवेश दिएन । २०० भन्दा धेरै चिनियाँ एपमाथि प्रतिबन्ध पनि लगायो । चिनियाँ स्मार्टफोन निर्माता शाओमीको ब्राण्डमाथि नै द्विदेशीय तनावले असर पा¥यो । चिनियाँ कम्पनीहरूले भारतीय कदमप्रति आपत्ति जनाए ।

जवाहरलाल नेहरु विश्वविद्यालयस्थित सेन्टर फर चाइनिज स्टडीजका प्राध्यापक बीआर दीपक भारत कुनै हालतमा चीनप्रति निर्भरता हटाउन नसक्ने संकेत गर्छन् । उनी भन्छन्, ‘मोबाइलकै कुरा गरौं ः भारतमा चिनियाँ मोबाइलको बजार निकै बढिसकेको छ, भारतीय मोबाइल बजारको ५५ देखि ५६ प्रतिशतसम्म हिस्सा चिनियाँ मोबाइलले नै ओगट्छ । यतिखेर चिनियाँ मोबाइलले सामसङजस्तो ब्राण्डलाई पनि पछि पारिसकेको छ । चीनले दिल्लीमा मेट्रो पनि बनाइरहेको छ । दिल्ली मेट्रोमा एसयूजीसी (शंघाई अर्बन ग्रुप कर्पोरेशन) नामक कम्पनीले काम गरिरहेको छ ।’

दीपक थप्छन्, ‘औषधि बनाउने कच्चापदार्थ पनि भारतले चीनबाट नै आयात गर्छ । यस मामिलामा भारत पूर्णतः चीनमै निर्भर छ । पछिल्लो चार दशकमा पश्चिमा प्रविधिको सिको गर्दै चीनले सस्तोमा सामान बेचिरहेको छ ।’

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालमा चीनविरुद्ध व्यापारयुद्ध छेडेका थिए । त्यस्तो स्थितिमा पनि २०२१ मा यी दुई देशबीच ७५५.६ अर्ब डलर बराबरको व्यापार भयो । सो वर्ष दुई देशबीच व्यापारमा २८.७ प्रतिशत वृद्धि भयो । यसमा अमेरिकाले चीनतर्फ गरेको निर्यात जम्माजम्मी १७९.५३ अर्ब डलरमात्रै हो । चीनले वार्षिक रूपमा गर्ने ६ ट्रिलियन डलर बराबरको वैदेशिक व्यापारमा अमेरिकाको योगदान १२ प्रतिशत छ । अमेरिका र चीन विश्वका सबैभन्दा ठूला अर्थव्यवस्था हुन् । चरम टकरावको स्थितिमा रहेका चीन र अमेरिकाबीच व्यापारको यो स्थिति हेर्दा कुनै कायाकल्प नभएसम्म भारत चीनमै निर्भर हुनुको विकल्प देखिँदैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]