
सप्तरी – पद दुरुपयोग गर्दै मालपोतका कर्मचारीले २४ वर्षअघि आफ्नो नाममा गराएको चौरजहारी अस्पतालको जग्गा अझै फिर्ता भएको छैन । किनबेच भएर व्यक्तिका नाममा पुगेको चौरजहारी नगरपालिका–१ स्थित चौरजहारी अस्पतालको ७० वर्गमिटर जग्गा अस्पतालकै स्वामित्वमा फिर्ता ल्याउन अदालतले आदेश दिए पनि कार्यान्वयन हुन नसकेको हो ।
अस्पतालले भोगचलन गर्दै आएको उक्त जग्गामा व्यक्तिले दाबी गर्दै संरचना बनाउन थालेपछि अस्पतालले खोजबिन थालेको थियो । स्थानीय खिमबहादुर गिरीले अस्पतालको तारबारभित्रको जग्गामै घर बनाउन जग खन्न थालेपछि मात्रै अस्पतालले आफ्नो जग्गा किनबेच भएको पत्तो पाएको हो । २०५१ मंसिर २३ मा स्थानीय कमारा बनगोसाईलाई २ हजार रुपैयाँ थैली भरेर अस्पतालले जग्गा किनेको थियो । जसमध्ये कित्ता नम्बर २६० को जग्गा अस्पतालका नाममा गराउन छुटेको थियो । यही मौकामा तत्कालीन मालपोत कार्यालयमा कार्यरत कालीबहादुर गिरीले २०५४ असोज ३१ मा उक्त कित्ता आफ्नो नाममा गरेको खुलेको हो ।
कालीबहादुरले उक्त कित्ता २०७१ भदौ २६ मा खिमबहादुरलाई बेचेका थिए । कालीबहादुरको मृत्यु भइसकेको छ । जग्गा आफ्नो भएको भन्दै खिमबहादुरले घर बनाउन थालेपछि अस्पतालले कानुनी प्रक्रिया सुरु गरेको थियो । अस्पतालले ‘आफ्नो नाममा जग्गा गराई पाऊँ’ भन्दै २०७५ कात्तिक ११ मा रुकुम जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो । २०७६ माघ १३ मा मुद्दामाथि सुनुवाइ गर्दै अदालतले उक्त जग्गा अस्पतालकै भएको फैसला गरेको थियो । जग्गा अस्पतालका नाममा कायम गरिदिन पनि अदालतले मालपोत कार्यालयलाई कार्यादेश दिएको थियो । तर विपक्षीले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत सुर्खेतमा पुनरावेदन दियो । उच्च अदालतले पनि गत भदौ २७ मा जिल्लाकै फैसलालाई सदर गरिसकेको छ । तर, उक्त जग्गा अझैसम्म अस्पतालको हुन सकेको छैन ।
‘आफ्नै जग्गा प्राप्त गर्न पनि अनेक दुःख झेल्नु परिरहेको छ,’ अस्पतालका प्रशासक डिलबहादुर गिरीले भने, ‘उपचार र अरू परामर्श सेवा दिनुपर्ने ठाउँमा उल्टै मुद्दा मामिलामा फस्नुपरेको छ ।’ उनका अनुसार पटकपटक मालपोत अधिकृत, प्रमुख जिल्ला अधिकारीलगायतसँग छलफल गर्दा पनि निकास निस्किएको छैन । अहिले उक्त जग्गा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले रोक्का गरेको छ । खिमबहादुरलाई ऋण दिएको लघुवित्तले अस्पतालको जग्गा रोक्का गरेको हो । मालपोत कार्यालयका निमित्त प्रमुख ओमबहादुर खत्रीले जग्गा रोक्का भएका कारण अस्पतालका नाममा गराउन समस्या भएको बताए ।