
काठमाडौं – विवादित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का कारण अहिले सत्ता गठबन्धन नै टुट्ने सम्भावना देखिएको छ । गठबन्धन दलहरुसँग सहमती गरेर एमसीसी कुनै हालतमा प्रतिनिधि सभाको बैठकमा टेबल गर्ने योजनामा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा असफल हुँदै गइरहेका छन् ।
एमसीसी पास गर्न प्रधानमन्त्री देउवालाई गठबन्धनमा रहेका अन्य चार दलले समेत साथ नदिदा गठबन्धन नै टुट्ने सम्भावना देखिएको छ ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले एमसीसी शंसोधन गरी अघि बढाउन नसकिने बताउदै आइरहेका छन् । देउवाले यी दुवै पार्टीका अध्यक्षसँग भेट गरेर सहमती खोज्दा पनि अडान भने छोडेका छैनन् । माओवादीले एमसीसी पास गर्न जबरजस्ती गरे सरकारबाट हट्ने चेतावनी पनि दिएको छ ।
लगातार दुई संसदमा एमसीसी टेबल गर्ने कुरा चलेपनि हुन सकिरहेको छैन । देउवाले गठबन्धनमा सहमती जुटाउन सकिरहेका छैनन् । यसैबीच कांग्रेसका नेता गगन थापाले एमसीसीमा सहमत नभए गठबन्धन टुट्न सक्ने समेत बताए ।
शुक्रबार बसेको संसद बैठकपछि सञ्चारकर्मीहरूसँग नेता थापाले आफूहरुसँग कुरा मिलेमा गठबन्धन चलिराख्ने नभए गठबन्धन चल्न नसक्ने समेत बताए । उनले भने – ‘हाम्रो बीचमा कुरा मिल्यो, गठबन्धन चलिराख्छ । हाम्रो बीचमा कुरा मिलेन, यो गठबन्धन चल्दैन ।’
कांग्रेसका सभापति समेत रहेका देउवाले एमसीसीलाई संसदमा टेबल गर्न सत्ता गठबन्धन दलहरुलाई मनाउन सकिरहेका छैनन् । देउवाले एमसीसी राष्ट्रकै हितमा रहेको र फागुन १६ गतेभित्र पास गरिसक्नु पर्ने बताउदै आइरहेका छन् । यदि एमसीसी सहमतीमा नआएमा गठबन्धन टुट्ने सम्भावना देखिन्छ ।