
सप्तरी – सुनसरी, मोरङ र इलामका छुट्टाछुट्टै स्थानमा दुर्घटना हुँदा शुक्रबार तीन जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार शुक्रबार बेलुका ७ बजे सुनसरीको दुहबी नगरपालिका-८ स्थित कोसी राजमार्गमा को२०प ९८९६ नम्बरको मोटरसाइकल दुर्घटना भएको छ।
मोटरसाइकल अनियन्त्रित भएर सडकको डिभाइडरमा ठोक्किँदा गम्भीर घाइते भएका चालक विराटनगर-१४ का ३० वर्षीय श्याम कामतको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको विराटनगर अस्पतालमा मृत्यु भएको हो।
यस्तै, मोरङको जहदा गाउँपालिका-६ स्थित भित्रीसडक खण्डमा सडकमा राखेको गोरुगाडामा मोटरसाइकल ठोक्किँदा विराटनगर-१९ का २६ वर्षीय लक्ष्मी सरदारको मृत्यु भएको छ।
को३५प ३४०५ नम्बरको मोटरसाइकल गोरुगाडामा ठोक्किँदा सरदार गम्भीर घाइते भएका थिए। उपचारको लागि कोसी अस्पताल पुर्याउउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैगरी, इलामको सुर्योदय नगरपालिका-३ स्थित फिकल-पशुपतिनगर सडक खण्डमा बलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सुर्योदय नगरपालिका-१ का २३ वर्षीय सौगात राई छन्। शुक्रबार अपराह्न पशुपतिनगरतर्फ जाँदै गरेको को१ज ३५८९ नम्वरको बलेरोले मे११प ८४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ठक्करबाट सौगात राई र पछाडि सवार २५ वर्षीया सम्झना राई घाइते भएका थिए। घाइते दुबैलाई उपचारको लागि विर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकोमा सौगात राईको उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा संलग्न बलेरो र चालकलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिएको छ।