सप्तरी – पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी का वरिष्ठ नेता झलनाथ खनालले एमसीसी सम्झौता गठबन्धनको मुद्दा नभइ सिंगो नेपालको मुद्दा भएको बताएका छन् । उनले एमसीसी नेपाली जनताको मुद्दा भएको बताउँदै सम्पूर्ण संशोधनबिना संसदबाट यसलाई पारीत गर्न नदिने बताए ।
शुक्रवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै खनालले एमसीसी सम्झौतामा राष्ट्रघात हुने खालको पक्षहरु भएकाले संशोधन नगरी संसदबाट पारीत गर्न नदिने बताए ।
एमसीसी सम्झौता केवल करार सम्झौता मात्रै भएकाले नेपालको संसदले अनुमोदन गर्नु आवश्यक नरहेको उनले बताए । सो सम्झौतालाई संसदले अनुमोदन गरेमा गलत नजिर बस्ने र नेपालको अन्तर्राष्ट्रिय सम्बन्धहरु नै प्रभावित हुने जिकिर गरे ।
उनले भने, ‘गठबन्धनलाई कुनै ठेगानले छुदैन । एमसीसी मुद्दा राष्ट्रकै विवादको मुद्दा हो । यो कुनै गठबन्धनको मुद्दा होइन । सिंगो नेपालको मुद्दा हो यो । नेपाली जनताको मुद्दा हो यो । सम्पूर्ण नेपाली जनताको अभिमत अनुरुप यो सवालमा टुंगोमा पुग्नुपर्छ । तर जहाँसम्म गठबन्धनको कुरा छ, गठबन्धन भनेको निश्चित सवालमा सहमतीको आधारमा बनेको यो गठबन्धन बनेको हो । गठबन्धनलाई यो सवालले छुनुपर्ने कुनैपनि आवश्यकता म देख्दिनँ । एमसीसी सन्दर्भमा हाम्रो धारणा के हो भने, यसमा गम्भिर र गम्भिरतम् आपत्तिका कुराहरु छन् । यो राष्ट्रलाई घात गर्ने खालका पक्षहरु छन् । यी कुराहरु नसच्चिइकन, यिनीहरुलाई संशोधन नगरीकन हामी यसलाई पास गर्न दिदैनौँ । एमसीसी सम्झौता दुई देश बिचको भियना कन्भेन्सन अनुरुपको अन्तर्राष्ट्रिय सम्झौता होइन, यो करार सम्झौता मात्रै हो ।’
उनले एमसीसी सम्झौताहरुलाई दुनियाँको कुनैपनि संसदमा लगेर अनुमोदन गरिनु नहुने तर्क दिए । उनले यो सम्झौता नेपालको संसदले अनुमोदन गरे नेपालका अन्तर्राष्ट्रिय सम्बन्धहरु प्रभावित हुने समेत बताए ।