काठमाडौँ – भारतीय सिने स्टार सलमान खान नेपाल आउने भएका छन् । वैशाख ३ गते दशरथ रंगशालामा आयोजना हुने कार्यक्रममा सहभागी हुन सलमानसहित भारतीय कलाकारको टोली नेपाल आउने भएको हो ।
सलमानका साथमा अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा, मुदस्सर खाना, अभिनेता मनिष पल, आयुष शर्मा, सई मान्जरेकर, पार्श्व गायक गुरु रन्धावा लगायत कलाकार आउने भएका छन् । ओडीसी इन्टरटेनमेन्टले सलमानसहितका बलिउड कलाकारलाई काठमाडौँमा ल्याउन लागेको हो ।
सलमान खान यसअघि ०७४ फागुन २६ गते नै काठमाडौँको टुँडिखेलमा साङ्गीतिक कार्यक्रमका लागि आउने तय भएको थियो । त्यसबेला अर्धभूमिगत अवस्थामा रहेको नेत्रविक्रम चन्दको पार्टीले धम्क्याएपछि आयोजकले कार्यक्रम तत्काललाई स्थगन गरेको थियो । सोही बेलाको सम्झौताअनुसार, यसपटक सलमान खान नेपाल आउने पक्कापक्की भएको हो ।