चितवन – सबै दाँत झरेर थोता भएका, चाउरी परेका गाला। आँखा देख्ने कल्पना नै नगरेका ७४ वर्षीय जरबहादर चेपाङको खुसीको सिमा थिएन। छर्लङ आँखा देखेपछि उनी दंग थिए। आँखाको ज्योती फर्किएकोमा भरतपुरको आँखा अस्पतालमा खुसीले रमाउँदै थिए।
आँखाको ज्योती गुमेपछि एकवर्षदेखि छामेर हिँड्थे। आँखा ठप्प बन्द भएपछि खानबस्नै समस्या थियो। उनी ओछ्यानबाट टाढा जान सक्थेनन्। नातीनातिनीको सहारामा दिन कटाउँदै आएका थिए। अब आफ्ै हिड्न सक्ने भएका छन्। ‘आँखा बिग्रेपछि जिन्दगी गयो भनेको अहिले त छ्याङ्ग देख्ने भो’,जरबहादुरले भने, ‘अब जिन्दगी फर्किएको छ।’
आँखा देखेपछि आफ्नो सिप फर्किएकोमा खुसी छन्। आँखा नदेख्दा जिन्दगी नै सकिएको ठानेका थिए। उनले डोको, नाम्लो, नाङ्लो बुन्थे। त्यसैको कमाइले पालिन्थे। ‘आँखा नदेख्दा मेरो सिप मर्छ भन्ने लागेको थियो’, हातमा कालो चस्मा लिएका उनले मुस्कुराउदैँ भने, ‘फेसर आफ्नै सिप गरेर खान सक्छु।’
मोतियाविन्दु भएर उनको दुवै आँखाले देख्दैनथे। आर्थिक अवस्था कमजोर भएर उनी अस्पताल आउन सकेका थिएनन्। विहिबार भरतपुर आँखा अस्पतालमा उनको दाहिने पट्टीको आँखाको शल्यक्रिया गरिएको हो। अस्पतालले उनको निःशुल्क उपचार गरेको हो। एक महिनापछि दाहिने आँखाको शल्यक्रिया गरिदैँछ। ‘पैसा नभएर आँखा नगुमोस भनेर थाहा पाएपछि उपचार गराएका हौँ’ आँखा अस्पतालले संचालन गरेको आँखा बैंकको संयोजक छाँया श्रेष्ठले भनिन् ‘आँखा देख्ने भएपछि उनले जुन खुसी पाए त्यहीँ नै हाम्रो सफलता हो। ’