२० आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ २८, २०७८

झापा – चन्द्रबहादुर भुजेल बिहान उठेर आँगनको धारामा हातमुख धोएपछि सडकका छेउमा बाँसको मुडामा टुक्रुक्क बसेर चिया पिउँदै वरपर हेर्नुहुन्छ र मुस्कुराउनुहुन्छ ।

घर अगाडि टायल बिछ्याइएको फराकिलो सडक छ । छिमेकमा एकै रूप र शैलीका चिटिक्क घर छन् । बिजुलीले घर झलमल्ल छ । सिलिङमा जिप्सन लगाइएको छ ।

दमक नगरपालिका वडा नं १ मा निर्मित एकीकृत नमुना बस्तीको सात नम्बर घरमा बस्दै आउनुभएका ७३ वर्षीय भुजेललाई अहिलेको बसाइ सपना जस्तो लाग्छ ।

जीवनभर दुखजिलो गर्दा डेरामा बस्नुपरेको लामो पीडालाई नमुना बस्तीको आरामदायी बासले बिर्साइदिएको छ । बस्ने घर पाइए पनि जग्गाको धनीपुर्जा हातमा नहुँदा भने उहाँलाई खल्लो अनुभूति हुन्छ ।

“सपनामा पनि यति राम्रो घरमा बस्न पाइएला भन्ने सोचेको थिइन नानी”, आँगनमा बसेर माघको न्यानो घाम ताप्दै भुजेलले भन्नुभयो, “खुशीको सीमा नै छैन, बुढेसकालमा डेरामा बस्नु त परेन ।” उहाँ र पत्नी गरी सो घरमा दुई जनाको बास छ । उहाँका पाँच छोरी बिहे गरेर आआफ्नै घर गइसकेका छन् ।

नमुना बस्तीमा आउनुअघि भुजेल परिवार ४२ वर्षसम्म दमककै दूरसञ्चार कार्यालय छेउमा डेरामा बस्दै आएको थियो । छोराछोरी डेरामै जन्मेर हुर्केका थिए । जीवन पाल्नका लागि भुजेल दम्पतीले दूरसञ्चारको फूलबारी गोड्ने सानो काम पाएको थियो ।

नगरपालिकाले दुई वर्षमा वडा नं १ मा २३ र वडा नं ७ मा १५ घर निर्माण गरेर विपन्न परिवारलाई हस्तान्तरण गरिसकेको छ । भूमिहीन, विपन्न र अव्यवस्थित बसोबासी परिवारलाई छानेर नमुना बस्तीमा सारिएको नगरपालिकाका उपप्रमुख गीता अधिकारीले बताउनुभयो ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष नमुना बस्तीको उद्घाटन गर्नुभएको थियो । नमुना बस्तीका दिदीबहिनीलाई उद्यमशील तालिम दिएर स्वरोजगारी सिर्जना गर्ने नगरपालिकाको योजना भए पनि कोरोना महामारीले योजना अघि बढाउन विलम्ब भइरहेको अधिकारीको स्वीकारोक्ति छ ।

दुवै वडामा बनेको नमुना बस्ती एउटा सडक वारिपारि छ । सडक उत्तर बनेका २३ घर चारकोठे तथा दक्षिणतिर बनेका तीनकोठे छन् । दक्षिणतिर केही घर निर्माणाधीन छन् । निर्माणाधीन घर आगामी फागुन पहिलो साताभित्र सम्पन्न हुने तयारीमा छन् ।

चारकोठे घर प्राप्त गर्नुभएकी ५७ वर्षीया कमला रणपहेलीले एउटा कोठालाई भान्सा बनाइएको र बाँकी कोठामा परिवारका सात सदस्य बस्ने गरेको बताउनुभयो ।

उहाँका अनुसार बिजुलीको मिटर बक्स हरेक घरको आफ्नै रहेको र पिउने पानीको धारा चाहिँ छ घरको साझा छ । हरेक घरमा ‘अट्याच बाथरुम’ सुविधासमेत छ ।

उहाँका छोराहरू कमाइ गर्न बजारतिर जान्छन् । दिउँसो कामका लागि जहाँसुकै गए पनि बेलुका बास बस्न सबै घर आइपुग्ने गर्छन् । रोजगारीका खोजीमा भौँतारिनु पर्ने अवस्थाको अन्त्यका लागि उहाँले सरकारसँग आग्रह गर्नुभएको छ ।

‘‘जिन्दगीभर पक्की घर बनाएर बस्न पाइएला भन्ने लागेको थिएन ”, नमुना बस्तीमा बस्न पाउँदा हर्ष व्यक्त गर्दै उहाँले भन्नुभयो, “सरकारले घर त दियो, अब धनीपुर्जा र रोजगारी पनि दिए ढुक्क हुने थियो ।” बिजुली र धाराको पानीको शुल्क भने आफैँले तिर्नुपरेको उहाँले बताउनुभयो ।

नमुना बस्तीमा आउनुअघि रणपहेलीको परिवार पशुहाट छेउ रतुवा खोलाको बाँध रहेको सरकारी जग्गामा झुपडी बनाएर २५ वर्षदेखि बस्दै आएको थियो । कुन बेला रतुवाको बाढी उर्लिएर निद्रामै बगाउला भन्ने त्रासैत्रासमा जीवन बित्ने गरेको सम्झिँदा उहाँलाई अहिले पनि ऐँठन हुन्छ रे ।

भूमिहीन सुकुम्बासी र घरबारविहीन विपन्न परिवारलाई उचित बसोबासको व्यवस्था मिलाउन नगरपालिकाले आवासका सबैखाले सुविधासम्पन्न नमुना बस्तीको अवधारणा लागू गरेको प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिना बताउनुहुन्छ ।

उहाँका अनुसार खाली सरकारी जग्गामा एकीकृत बस्ती निर्माण गरिएको हुँदा यसको धनीपुर्जा बन्न बाँकी छ । “त्यहाँ बस्ने नगरवासीलाई घरको स्वामित्व प्रदान गरिसकेका छौंँ ”, तिम्सिनाले भन्नुभयो, “नगरपालिकाले अब जग्गाको धनीपुर्जा पनि भविष्यमा दिलाउँछ ।”

एकीकृत बस्ती बसाउँदा खानेपानी, बिजुली, सडकलगायत भौतिक विकासको पूर्वाधार पु¥याउन नगरपालिकालाई सहज भएको उहाँले बताउनुभयो । बस्तीको नियमित रेखदेख र अनुगमन नगरपालिकाले गरिरहेको जनाइएको छ ।

नगरपालिकाले निर्माण गरेको नमुना बस्तीको एउटा घर बनाउँदा रु १२ लाख ५० हजार र त्यसको रङरोगनमा अलग्गै खर्च भएको प्रमुख प्रशासकीय अधिकृत तिम्सिनाले जानकारी दिनुभयो ।

सोबाहेक नगरपालिकाका विभिन्न वडामा ‘जनता आवास कार्यक्रम’ अन्तर्गत ३३ घर निर्माण गरेर स्थानीय विपन्न परिवारलाई हस्तान्तरण गरिसकिएको बताइएको छ । घर निर्माणमा प्रदेश र सङ्घीय सरकारले समेत आर्थिक सहयोग पु¥याएको थिए ।

रतुवाको नजिक निर्मित नमुना बस्ती बस्नका लागि सुविधायुक्त, सुरक्षित र व्यवस्थित छ । लहरै एकैखालका घरले बस्तीको सौन्दर्य बढाएको छ ।

सबैका एउटै खालका समस्या र समान सुविधा भएकाले बस्तीका बासिन्दा आपसमा मिलेर बसेका छन् । बर्दीबासमा धुर्मुस सुन्तली फाउन्डेसनले बनाएको नमुना बस्तीकै झल्को पाइने भएकाले यहाँ हेर्न र बुझ्नका लागि आन्तरिक पर्यटकसमेत आउने गरेका छन् ।

यहाँ बसोबास गर्दै आएका परिवारले जग्गाको धनीपुर्जा, रोजगारीको अवसर, उद्यमशीलता तालिम र सरसफाइको व्यवस्था गरिदिन नगरपालिकासँग माग गरेका छन् ।

कतिपय घरमा दुई र केहीमा तीन परिवारसमेत बसोबास गराइएकामा उहाँहरुको आपत्ति छ । एउटा घरमा एउटा मात्र परिवारलाई बसोबास गराइयो भने धनीपुर्जा वितरणमा सहज हुने स्थानीयवासीको सुझाव छ ।

नगरपालिकाले आठ धुर जग्गामा एउटा घर बनाएको छ जसमा सानो आँगनबाहेक खाली ठाउँ छैन । अलिकति सागसब्जी उब्जाउने र एउटा कुखुरा पाल्ने समेत ठाउँ नभएको उहाँहरूको गुनासो छ ।

बस्तीभित्र वरिपरि बनाइएको नालीमा फोहोर जमेर दुर्गन्धित छ । नगरपालिकाले नाली सफा राखिदिने व्यवस्था गरिदिनुपर्ने उहाँहरूको माग छ ।

घर नं ३ मा बसोबास गर्दै आउनु भएकी ७५ वर्षीया धनमाया बस्नेतले एउटै घरमा धेरै परिवार अटाउनुपर्दा बस्न, खान र सुत्नका लागि असुविधा भएको गुनासो गर्नुभयो ।

उहाँका घरमा अलगअलग तीन परिवारको बसोबास छ । सानो एउटा घरमा धेरै परिवार खाँदाखाँद गरेर बस्नुपर्दा आपसमा मनमुटाव र द्वन्द्व बढ्ने गरेको छ ।

नगरपालिकाले नमुना बस्तीमा भिन्न परिवेश र समुदायबाट आएका परिवारको बसोबास भएको हुँदा त्यहाँ बस्दा पालना गर्नु पर्ने केही नियम बनाएको छ । नियम उल्लङ्घन गर्नेलाई बस्तीबाट हटाइने नगरपालिकाले चेतावनी दिएको बताइएको छ ।

नियमानुसार बस्तीका परिवारले सार्वजनिकस्थल र घरमा समेत फोहोरमैला गर्न पाउँदैनन्, सुँगुर, बाख्रा र कुखुरा पाल्न पाउँदैनन् । तिनले पसल खोल्न पाउँदैनन्, मदिरा पिएर होहल्ला गर्न पाउँदैनन् । बस्तीभित्रको सडक सफा राख्ने जिम्मा बासिन्दालाई नै दिइएको छ ।

बस्तीमा बसोबास गर्दै आएकाहरू अधिकांशले दैनिक ज्यालादारी काम खोजेर जीविका चलाउँदै आएका छन् । कोही पाँच किलोमिटर टाढा गएर फुटपाथमा खुद्रा पसल चलाउँछन् भने धेरैजसो मजदुरी गर्छन् ।

बजारमा पसल सञ्चालन गर्न विनाधितो कर्जा वा अनुदानमा पुँजी पाउने हो भने बस्तीका परिवारको आर्थिक पक्ष सबल बन्नेछ । त्यहाँका परिवारमा सिलाइबुनाइ, होटल व्यवसाय, ड्राइभिङलगायत तालिमको खाँचो छ ।

त्यहाँका परिवारमध्ये ज्येष्ठ नागरिक घरैमा बस्ने गरेका छन् । बालबालिका बाहिरको विद्यालय जाने गरेका छन् । वयष्कहरू कामका खोजीमा बस्ती बाहिर जाने गरेका छन् । सुविधा र घरका विषयमा आपसमा झैझगडा हुँदा नगरपालिकाका प्रतिनिधि आएर मिलाइदिने गरेका छन् ।

पहिलोपटक बनाइएको नमुना बस्तीमा नगरपालिकाले धेरै सुविधा पु¥याउने जमर्को गरे पनि स्थानीयवासीले जग्गाको धनीपुर्जा छिटो प्रदान गर्न माग गरिरहेका छन् ।

“पहिले बसेको ठाउँ सरकारी जग्गा प¥यो भनेर हटाए”, वडा नं ७ को नमुना बस्तीमा बस्नुभएकी कृष्णा तामाङ यहाँबाट पनि हटाउने हुन् कि भन्ने डर पसिरहेकाले शङ्का व्यक्त गर्दै भन्नुहुन्छ, “फेरि चुनाव आउँदैछ, नयाँ मेयर र वडाध्यक्ष आउँदा अर्कै मान्छे ल्याएर बसाउने पो हुन् कि ?”

नयाँ सरकार र जनप्रतिनिधि आए पनि बस्तीका परिवारलाई हटाउन नसक्ने गरी नगरपालिकाको बोर्डबाट निर्णय गराइएको वडा नं ७ का वडाध्यक्ष भीम पौडेलले बताउनुभयो ।

“उहाँहरुलाई ढुक्क हुन आग्रह गर्दछु, जुनसुकै सरकार फेरिए पनि बस्तीमा बसिसकेका परिवारलाई हटाउन मिल्दैन”, उहाँले भन्नुभयो । बस्तीका परिवारको कुनै पनि समस्या समाधानका लागि वडा कार्यालय तत्पर रहेको आश्वासन उहाँले दिनुभयो ।

नमुना बस्तीमा हरेक परिवारलाई निःशुल्क रुपमा स्वास्थ्य बिमा गरिदिने गरिएको र वडा कार्यालयले रोजगारीमा समेत सहजीकरण गर्दै आएको पौडेलले जानकारी दिनुभयो । विभिन्न राजनीतिक दलले त्यहाँका परिवारलाई पार्टीको सदस्यता थमाउँदै आश्वासन बाँड्ने गरेको पनि उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]