
सप्तरी – सरकारले सोमबार आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचन गर्ने घोषणा गरेसँगै दलहरु तात्न थालेका छन्।
पछिल्लो दुई महिनायता तराई-मधेसमा आन्दोलनरत डा. सीके राउत नेतृत्वको जनमत पार्टीले निर्वाचन तयारी नै थालेको छ।
निर्वाचन आउन तीन महिना बाँकी रहँदै जनमतले पार्टीको तर्फबाट उम्मेदवार हुन योग्य तथा मापदण्ड पुगेका उम्मेदवारहरूको नाम सिफारिस गरी पठाउन भनेको छ।
अध्यक्ष राउतले मंगलबार मातहतका कमिटीहरूमा एक परिपत्र गर्दै यस्तो आग्रह गरेका हुन्।
‘नेपाल सरकारबाट मिति २०७९ वैशाख ३० गते स्थानीय निर्वाचनको घोषणा गरिएको हुनाले जनमत पार्टीको तर्फबाट उम्मेदवार हुन योग्य तथा मापदण्ड पुगेकाहरूको नाम सिफारिस री केन्द्रीय सचिवालयमा पठाउन हुन अनुरोध छ’, राउतले भनेका छन्।
उनले मातहत कमिटीहरूलाई सिफारिसलाई अन्तिम निर्णयका रुपमा पनि नलिन भनेका छन्।
‘याद रहोस्, यो केवल सिफारिस हुनेछ, अन्तिम निर्णय होइन’, उनले भनेका छन्, ‘अन्तिम निर्णय केन्द्रीय कार्यकारिणी समितिले विभिन्न च्यानलबाट आएका सबै सिफारिसलाई मूल्याङ्कन गरेर गर्नेछ।’
जनमतले जिल्ला कार्यकारिणी समितिहरुले आगामी फागुन ५ गतेसम्ममा उम्मेदवारहरूको नाम सिफारिस गरिसक्न भनेको छ। त्यस्तै वडा/पालिका कार्यकारिणी समितिहरुले फागुन १५ गतेसम्म सिफारिस पठाउन सक्ने उल्लेख गरिएको छ।
