
सप्तरी – ओमान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा सहभागिता जनाउन ओमान जान लागेको नेपाली टोलीलाई मंगलबार भर्चुअल कार्यक्रमबाट युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बिदाइ गरेका हुन् ।
कोरोना संक्रमण जोखिमका कारण नेपाल क्रिकेट संघ (क्यान) ले भर्चुअल माध्यमद्वारा मंगलबार बिहान बिदाई कार्यक्रम आयोजना गरेको हो । विश्वकपमा छनोटका लागि हुने खेलका लागि नेपाली टोली मंगलबार राति ८ः३० बजे ओमान प्रस्थान गर्ने तालिका रहेको छ ।
ग्लोबल छनोटका लागि नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी बिच खेल हुने भएको छ । फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुने छनौट खेल अन्तर्गत समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् भने समूह ‘बी’ मा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।
छनोटअघि नेपालले ओमानमा चार देशीय टी–२० सिरिज खेल्ने तालिका समेत रहेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिए । सिरिजमा नेपालसहित आयरल्यान्ड, युएई र ओमान रहेका छन् ।
खेलाडीहरुलाई बिदाई गर्दै मन्त्रीले विश्वकपका लागि ग्लोबल छनोट भएर आउन शुभकामना दिए ।
राज्यले खेल पुर्वाधार निर्माणका लागि उल्लेख्य प्रयास गर्दै आएको तर्फ इंगित गर्दै उनले केही ठुला पूर्वाधारहरु निर्माणधिन अवस्थामा रहेकाले आफ्नै कार्यकालमा त्यसलाई पूर्णता दिनेगरी निर्माण प्रक्रिया अगाडी बढाइएको बताए ।
क्यानका अध्यक्ष चतुर बहादुर चन्दले विगतमा देखिएका कमीकमजोरीलाई सच्याउँदै क्रिकेटको विकासका लागि सबै एक हुनुपर्नेमा जोड दिए ।
बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला लगायतको उपस्थिती रहेको थियो ।