२२ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ १३, २०७८

काठमाडौं – रुसले युक्रेनसँगको सीमामा ठूलो संख्यामा सैनिक तैनाथ गरेपछि त्यस क्षेत्रमा तनाव बढेको छ । युक्रेन र पश्चिमाले जुनसुकै समयमा युक्रेनमाथि हमला हुन सक्ने सम्भावना रहेको बताउँदै आएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले मस्कोले युक्रेनमाथि आक्रमण गरे व्यक्तिगत रूपमा रुसी राष्ट्रपति भ्लादमिर पुटिनमाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । तर, यसले केही फरक नपर्ने रुसी पक्षको भनाइ छ ।

रुसद्वारा युक्रेनमाथि हुन सक्ने सम्भावित आक्रमणबाट डराएका उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) साझेदारहरूले युक्रेनमा थप फौज र सैन्य सामग्री पठाएर सहयोग बढाएका छन् । गठबन्धनले आफ्नो कदम युक्रेनको सीमामा रुसले सैन्य शक्ति बढाइरहेको प्रतिक्रियास्वरूप भएको जनाएको छ ।

मस्कोले आफ्ना कार्यहरू महत्त्वपूर्ण सुरक्षा हितहरू सुरक्षित गर्न आवश्यक भएको दाबी गर्छ र त्यस क्षेत्रको सुरक्षालाई कमजोर पारेको भनी नेटोलाई दोष दिन्छ ।

त्यहाँ द्वन्द्व किन त ?
युक्रेन सोभियत गणतन्त्र हुनुअघि शताब्दीयौँसम्म रुसी साम्राज्यको हिस्सा थियो । सन् १९९१ मा यूएसएसआर विघटन भएपछि युक्रेनले स्वतन्त्रता प्राप्त गर्‍यो । उसले आफ्नो रुसी साम्राज्यवादी विरासतलाई त्याग्न र पश्चिमासँग झन्–झन् घनिष्ठ सम्बन्ध गाँस्न थाल्यो ।

क्रेमलिनप्रति झुकाव भएका युक्रेनी राष्ट्रपति भिक्टर यानुकोभिचले मस्कोसँग घनिष्ठ सम्बन्धको पक्षमा युरोपेली संघसँगको सहयोगी सम्झौतालाई अस्वीकार गर्ने निर्णयले सन् २०१४ मा जनविद्रोह निम्त्यायो । त्यस विद्रोहले उनलाई हटायो ।

युक्रेनमा मस्को समर्थित नेतालाई हटाइएपछि युक्रेनको क्रिमिया प्रायद्वीपलाई आफ्नो भूमिमा गाभेर र युक्रेनको पूर्वी भागमा पृथकतावादी विद्रोहीलाई सहयोग गरी रुसले यसको जवाफ दियो ।

युक्रेन र पश्चिमाले आफ्ना सेना र हतियार पठाएर रुसले विद्रोहीहरूलाई समर्थन गरेको आरोप लगाएका छन् । पृथकतावादीसँग सामेल भएका रुसी स्वयमंसेवक भएको बताउँदै मस्कोले आफूमाथिको आरोप अस्वीकार गर्ने गरेको छ ।

कीभका अनुसार युक्रेनको पूर्वी औद्योगिक केन्द्र डोनबासलाई ध्वस्त पारेको लडाइँमा १४ हजारभन्दा बढी मानिसको मृत्युु भएको छ ।

मस्कोले भने युक्रेनलाई हतियार उपलब्ध गराएको र संयुक्त सैन्य अभ्यास गरेकोमा अमेरिका र उसको नेटो साझेदारको कडा आलोचना गरेको छ । यस्ता कदमले विद्रोही नियन्त्रित क्षेत्रलाई पुनः प्राप्त गर्न ‘युक्रेनी बाज’लाई प्रोत्साहन मिल्ने उसको भनाइ छ ।

यसबाहेक रुसी राष्ट्रपति पुटिनले बारम्बार युक्रेनको नेटोमा सामेल हुने आकांक्षालाई ‘रेड लाइन’ भनेका छन् र युक्रेनमा सैन्य प्रशिक्षण केन्द्रहरू स्थापना गर्ने केही नेटो सदस्यहरूको योजनाको बारेमा चिन्ता व्यक्त गरेका छन् । यस कदमले युक्रेन नेटोमा सामेल नभईकन पनि यस क्षेत्रमा सैन्य कदम राख्न सक्ने उनको भनाइ छ ।

रुस के चाहन्छ ?
यो रुसले नचाहेको कुरा हो । रुसले युक्रेनलाई नेटोमा सामेल भएको देख्न चाहँदैन । रुसले गएको डिसेम्बरमा अमेरिकासँग युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्नेसहितका माग राखेको थियो । रुसले पूर्वी युरोपबाट नेटो फिर्ता भएको देख्न चाहन्छ । यस विषयमा मस्कोले पश्चिमाबाट शाब्दिक सुनिश्चितता नभई कानुनी निश्चितता चाहन्छ ।

तर, अमेरिकाले रुसी मागलाई अस्वीकार गरिदिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले रुसी मागको औपचारिक जवाफ दिँदै अस्वीकार गरिदिएका हुन् ।

के युक्रेन नेटोमा सामेल हुन्छ ?
युक्रेन नेटो सदस्य होइन । तर, ऊ त्यसको सदस्य बन्न चाहन्छ । उसलाई गठबन्धनको साझेदार मानिन्छ । सदस्यताका लागि विचार गर्नुपूर्व कीभले भ्रष्टाचारजस्ता विकृतिलाई जरैदेखि उखेल्नुपर्ने नेटोको भनाइ छ ।

नेटोका महासचिव जेन्स स्टोलटेनबर्गले डिसेम्बरमा युक्रेनप्रतिको सन् २००८ को प्रतिबद्धता खारेज गर्ने रुसी मागलाई अस्वीकार गरिदिए । त्यस प्रतिबद्धताअनुसार युक्रेन नेटो सदस्य बन्न सक्छ । उनले यो मुद्दाको बारेमा विचार गर्ने समय आउँदा रुसले युक्रेनको प्रवेशलाई भिटो प्रयोग गर्न सक्षम नहुने बताए ।

यद्यपि, विश्लेषकहरू भन्छन्, “नेटो सहयोगीहरू, तिनीहरूमध्ये पनि प्रमुख अमेरिका यस क्षेत्रमा आफ्नो सैन्य कदम विस्तार गर्न र मस्कोसँगको सम्बन्धलाई थप खतरामा पार्न अनिच्छुक छ ।”

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले नेटोमा युक्रेनको सदस्यताका लागि समर्थन व्यक्त गरे पनि राष्ट्रपति जो बाइडन यस प्रश्नमा थप अस्पष्ट छन् ।

के अब युद्ध हुन्छ त ?
युक्रेनी सिमानामा एक लाख सेना तैनाथ गरेको रुसले आफ्नो पश्चिमी समर्थक छिमेकीमाथि आक्रमण गर्ने तयारी गरेको पश्चिमाहरूले आरोप लगाएका छन् ।

बाइडनले रुससँग कसरी व्यवहार गर्ने भन्नेमा ‘पूर्ण एकमत’ भएको दाबी गरेका छन् । पेन्टागनले पूर्वी युरोपमा तैनाथ गर्न आठ हजार ५०० सैनिक तम्तयार अवस्थामा राखेको छ । नेटोले यस क्षेत्रको सुरक्षालाई बलियो बनाउन जहाज र जेटहरू पठाइरहेको जनाएको छ ।

राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले यी कार्यले पहिले नै तनावपूर्ण अवस्थालाई बढवा दिएको बताए । “अमेरिकाले तनाव बढाउँदै छ,” उनले पत्रकारहरूसित भने, “हामीले यी अमेरिकी कार्यहरूलाई ठूलो चासोका साथ हेरिरहेका छौँ ।”

रुसले युक्रेनमाथि आक्रमण गर्ने कुनै योजना नभएको भन्दै पश्चिमा आरोपलाई अस्वीकार गर्दै आएको छ । बरु, पश्चिमाले अवस्थालाई थप बिगारेको आरोप लगाएको छ ।

दुई देशबीच युद्ध हुन्छ/हुँदैन भन्ने अनिश्चित छ । तर, केही विश्लेषकहरू भन्छन्, “रुसले युक्रेनमा द्रुत, निर्णायक विजयको दाबी गर्न र नेटोको विस्तार र प्रभावको क्षेत्रको बारेमा भविष्यको वार्तामा आफ्नो बार्गेनिङ पावर बढाउन सक्छ ।”

रुसले युक्रेनमा आक्रमण गरे के हुन्छ ?
पश्चिमा राष्ट्रहरूले युक्रेनलाई समर्थन गरेका छन् । तर, केही प्रतिक्रियाहरू अरूभन्दा कडा छन् । अमेरिका र बेलायतले हतियार आपूर्ति गरेको छ, जबकि जर्मनीले अर्को महिना फिल्ड मेडिकल सुविधा पठाउने योजना बनाएको छ । तर, उसले सैन्य सामग्री दिने छैन ।

मस्कोलाई सजाय दिने उद्देश्यले प्रतिबन्धको बारेमा पनि धेरै कुरा भएको छ । अमेरिका र युरोपेली सहयोगीहरूले पुटिनले युक्रेनमा आफ्नो सेना पठाए रुसलाई पहिले कहिल्यै नभएको जस्तो आर्थिक रूपमा प्रहार गर्ने सार्वजनिक रूपमा वाचा गरेका छन् । पुटिनलाई अनुमान गर्न दिनु नै उत्तम हुने तर्क गर्दै नेताहरूले थोरै मात्र विवरण दिएका छन् ।

रुसलाई विश्वभरि बैंकबाट बैंकमा पैसा सार्न सकिने स्वीफ्ट वित्तीय प्रणालीबाट बाहिर निकाल्नु उनीहरूले लिन सक्ने कदमहरूमध्ये एक हुनेछ । यसले रुसको अर्थतन्त्रलाई तत्कालै र दीर्घकालीन रूपमा नोक्सान पुर्‍याउनेछ ।

यस कदमले रुसलाई अधिकांश अन्तर्राष्ट्रिय वित्तीय कारोबारहरूबाट कटौती गर्न सक्छ । जसमा तेल र ग्यास उत्पादनबाट हुने अन्तर्राष्ट्रिय नाफा पनि समावेश छ । त्यो रुसको राजस्वको ४० प्रतिशतभन्दा बढी हो ।

पुटिनले युक्रेनमा आक्रमण गरे रुसलाई डलरको पहुँचबाट वञ्चित गर्ने सबैभन्दा शक्तिशाली आर्थिक हतियार पनि अमेरिकासँग छ । दैनिक कैयौँ ट्रिलियन कारोबार हुने डलर अझै पनि विश्वभरको वित्तीय कारोबारमा हावी छ ।

अमेरिकाले निर्यात नियन्त्रणहरू लागु गर्ने विचार गरिरहेको छ । यसमा अरू कुराका साथसाथै लडाकु विमानहरू र यात्रु जेटहरू उडान गर्न र स्मार्टफोनहरूलाई शक्ति दिने उच्च प्रविधिबाट रुसलाई वञ्चित गर्ने सम्भावना पनि पर्छ । अलजजिरालगायत एजेन्सीको सहयोगमा ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]