२७ फाल्गुण २०८२, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ १३, २०७८

सप्तरी – सातवटा सरकारी गाडी फुटाइयो, जनप्रतिनिधि र चिकित्सकमाथि आक्रमण
मधेस प्रदेशमा जनमत पार्टीका कार्यकर्ताले राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान बिथोल्न खोजेपछि बुधबार बिहानभर तनावग्रस्त बन्यो । बिहान ९ बजेदेखि मतदान तोकिएको थियो । त्यसअघि नै डा. सिके राउत नेतृत्वको जनमत पार्टीका नेता–कार्यकर्ताले जनकपुरधाम प्रवेश हुने मुख्य–मुख्य नाकामा विरोध प्रदर्शन गरिरहेका थिए ।

पिडारी चोक, कमद चोक, मुरली चोक, रामानन्द चोक, जिरोमाइललगायतका स्थानमा बसेका जनमत पार्टीका कार्यकर्ताले मतदानमा सहभागी हुन आउने प्रदेश सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखहरूलाई रोक्न खोजेपछि तनाव उत्पन्न भएको थियो । प्रहरीले उनीहरूलाई स्कर्टिङ गरेर मतदानस्थलसम्म पुर्‍याइरहेको थियो ।

त्यहीक्रममा जनता समाजवादीका सांसद तथा प्रदेश मामिला संसदीय समितिका सभापति अशोक यादव चढेको प्रदेश २–०३–००१ झ ००१८ नम्बरको गाडीमा पिडारी चोकमा बसेका राउतको कार्यकर्ताले आक्रमण गरे । त्यसैगरी, सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईं र उपप्रमुख रेणु पौडेल चढेको प्रदेश २–०३–००१ झ ००२० नम्बरको गाडीमा पनि रामचोकमा तोडफोड भयो । घटनामा नगरप्रमुख प्रसाईंको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अुनसार राउतका कार्यकर्ताले लाठी प्रहार गर्दा सांसद यादवको दायाँ हात भाँचिएको छ । त्यसैगरी, धनुषा गणेशमान चारनाथ नगरपालिकाकी उपप्रमुख मीना यादव चढेको प्रदेश २–०३–००१ झ ००८० नम्बरको गाडीमा पनि आक्रमण गरी सिसा फुटाइएको छ ।

सिके राउतका कार्यकर्ताले बर्दिवास जाँदै गरेका जलेश्वर अस्पतालका निमित्त प्रमुख डा. सतिस साहमाथि पिडारी चोकमा आक्रमण गरेका थिए । सरकारी गाडी दुरुपयोग गरेको भन्दै उनीहरूले डा. साह सवार प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडी तोडफोड मात्र गरेनन्, डा. साहमाथि नै आक्रमण गरे । आक्रमणबाट घाइते भएका साहको मुखमा आठवटा टाँका लगाइएको धनुषाका प्रहरी प्रमुख एसपी वसन्त रजौरेले जानकारी दिए ।

राउतका कार्यकर्ताले मतदानस्थल तय गरिएको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठाननजिकै प्रदर्शन गर्दा प्रहरीसँग पटक–पटक झडप भएको थियो । मतदानस्थलबाट लखेटिएका जनमत पार्टीका कार्यकर्ताले त्यसपछि पिडारीचोकमा पुगेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी करिब चार घन्टासम्म प्रदर्शन गरेका थिए । त्यहाँ पनि प्रहरी र प्रदर्शनकारीबीच दोहारो झडप भएको थियो । प्रहरीका अनुसार प्रदर्शनकारीहरूले सातवटा सरकारी नम्बर प्लेटका गाडी तोडफोड गरेका छन् । प्रदर्शनकारीले हानेको ढुंगा लागेर चार प्रहरी, तीन जनप्रतिनिधि र एक चिकित्सक घाइते भएका छन् । ६ प्रदर्शनकारीलाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी रजौरेले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]