
सप्तरी – दाङको लमही नगरपालिका-६, बलरामपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । एकजना गम्भीर घाइते छन् ।
तुलसीपुर उपमहानगरपालिका-१२ का २५ वर्षीय अरुण देवकोटाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा लमहीस्थित लमही अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
घाइते भएका मोटरसाइकलमा पछाडि सवार चितवनको भरतपुर महानगरपालिका-७ का ३५ वर्षीय रामप्रसाद सापकोटाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
लमहीबाट गढवातर्फ जाँदै गरेको रा५प ५७ १४ नम्बरको मोटरसाइकल हिजो साँझ करिब ६ बजे अनियन्त्रित भई पल्टिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सुनसरीको इटहरी उपमहानगरपालिका-१०, पुरानो टासफोर लाइनमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । तेह्रथुमको साब्लाका ५४ वर्षीय बमबहादुर लिम्बूको मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा इटहरीस्थित ऐपेक्स अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको लिम्बू सवार को११प ७९ ३२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को१ख ६१६२ नम्बरको बसले हिजो साँझ करिब ६ बजे ठक्कर दिएको थियो । ठक्कर दिने बससहित चालक इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।