
काठमाडौं – उच्च अदालतले पाटनले आज माघ ३ गते हुन लागेको महालक्ष्मी विकास बैंकको बार्षिक साधारणसभा रोक्न अन्तरिम आदेश दिएको छ । पाटन उच्च अदालतका न्यायाधिश विपुल न्यौपानेको एकल इजलाशले महालक्ष्मी विकास बैंकलाई आज माघ ३ गते आह्वान गरिएको बैंकको २० औं बार्षिक साधारणसभा स्थगित गर्न अन्तरिम आदेश दिएको हो ।
अदालतले अन्तरिम आदेश जारी गर्न पर्ने नपर्ने सम्बन्धमा माघ ३ गते अर्थात आज नै छलफलका लागि अदालतमा बोलाएको अवस्थामा व्यवस्थापन पक्षले एकतर्फी रुपमा बार्षिक साधारणसभा गर्न खोजेपछि अदालतले रोकेको हो ।
उच्च अदालतको आदेशसँगै महालक्ष्मी विकास बैंकको आज हुन लागेको बार्षिक साधारणसभा स्थगित हुने भएको छ । यसअघि बैंकको पुस २५ गते आह्वान गरेको बार्षिक साधारणसभा कोरम नपुग्दा नपुग्दै पनि बलपूर्वक पास गर्न खोज्दा कुटाकुट भई स्थगित गरिएको थियो ।
महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायले बैंकलाई एकलौटी ढंगले चलाउन खोजेपछि समस्या बढ्दै गएको छ ।