
जेरुसेलम – इजरायलले बुधबार सामाजिक सञ्जालमार्फत इजरायली महिलालाई भर्ती गर्ने इरानको एउटा गुप्तचर जालो तोड्न सफल भएको दाबी गरेको छ । यसरी भर्ती गरिएका महिलालाई इजरायलको संवेदनशील क्षेत्रका तस्बिरहरू लिन र अरू गोप्य सूचना संकलन गर्न लगाइने गरिएको बताइएको छ ।
इजरायली सरकारी सूत्रका अनुसार उनीहरूमध्ये कम्तीमा दुई महिलालाई उनीहरूका छोराहरूलाई इजरायली सैनिक गुप्तचरमा सामेल हुन प्रोत्साहन गरिएको पाइएको छ ।
इजरायलले इरानलाई आफ्नो लागि सबैभन्दा ठूलो खतरा ठान्ने गरेको छ । यी दुई मुलुकबीच वर्षौँदेखि अप्रत्यक्ष युद्ध चल्दै आएको छ । इरानलाई पमरमाणविक हातहतियार विकास गर्नबाट रोक्ने उद्देश्यले इजरायलले पटक–पटक इरानमाथि सैनिक आक्रमण गर्ने चेतावनी दिने गरेको छ ।
तर, इरानले पनि आफ्नो पारमाणविक हातहतियार बनाउने कुनै योजना र लक्ष्य नरहेको तथा आफूमाथि कुनै त्यस्तो सैन्य बल प्रयोग गरिएको खण्डमा दरिलो जवाफ फर्काइने जनाउँदै आएको छ ।
इजरायलको सिन बेट आन्तरिक सुरक्षा सेवाले आफूलाई यहुदी पुरुष दाबी गर्ने तथा फेसबुकमा राम्वोद नामदारको नामले एकाउन्ट खोलेका इरानका एकजना आशंकित गुप्तचरले आफू इजरायलमै बसिरहेको पनि बताउने गरेको पत्ता लगाएको छ । उनले इरानी मूलका इजरायली महिलालाई आफ्नो जालमा फसाउने गरेको बताइएको छ ।
सिन बेटले भनेको छ, “उनी धेरै वर्षदेखि एकजना ४० वर्षीया इजरायली महिलाको सम्पर्कमा रहँदै आएका छन् । उनले ती महिलालाई तेल अभिभस्थित अमेरिकी दूतावास, एउटा इजरायली सरकारी कार्यालय र सपिङ मलको तस्बिर लिन सहमत गराएका थिए । उनले ती महिलालाई इजरायली सैनिक गुप्तचर संस्थामा भर्ती गराउन अनुरोध गर्ने गरेका थिए । साथै, उनले फोन गरेर ती महिलालाई आफ्नो पर्सियाली भाषाको सीपबारे मूल्यांकन गर्न कर गरिरहन्थे ।”
ती इजरायली महिलाको अर्की ५७ वर्षीया आशंकित इरानी महिलासँग पनि चार वर्ष सम्पर्क रहेको र विभिन्न कामका लागि उनले पाँच हजार अमेरिकी डलर दिएको बताइएको छ । ती महिलाले पनि उनलाई उनको छोरालाई सैनिक गुप्तचर सेवामा काम गराउन दबाब दिने गरेकी थिइन् ।
सिन बेटका अनुसार ती महिलाले सूचना संकलनका लागि इरानी मूलका इजरायलीहरूको एउटा क्लब नै स्थापना गरेकी थिइन् भने एक इजरायली महिला विधायकसँग पनि सम्बन्ध बढाएकी थिइन् । एपीबाट ।