सप्तरी – स्याङ्जाको वालिङ नगरपालिका- १० भकुण्डेमा डेरा बस्दै आएका ३३ वर्षीय जीतेन्द्र गुरूङले सोही घरमा अर्को कोठामा बस्ने १६ महिने शिशुको हत्या गरेका छन्।
जीतेन्द्र बस्ने घरकै अर्को कोठामा बस्ने रनमाया गुरूङका १६ महिने छोरा साइमन गुरूङलाई चक्कु प्रहार गरेर हत्या गरेका हुन्।
चक्कु प्रहारबाट शिशुको घाँटी, पेटलगायत शरीरका विभिन्न ठाउँमा घाउ देखिएको स्याङ्जा प्रहरी प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए।
शिशुलाई नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको उनले बताए।
जीतेन्द्रले रनमायाकी जेठी छोरी ५ वर्षीय साइना गुरूङलाई पनि चक्कु प्रहार गरेका थिए। साइनालाई भने ठूलो चोट लाग्न पाएन। उनको प्राथमिक स्वास्थ्य केन्द्रमै उपचार गरेर डिस्चार्ज गरेको डिएसपी अधिकारीले बताए।
हत्यामा संलग्न जीतेन्द्र र रनमायाको सम्बन्ध भने खुलिसकेको छैन।
‘उहाँहरूलाई हिरासतमा लिएर अस्पताल लग्यौं, बयान लिन पाएका छैनौं,’ उनले भने, ‘विस्तृत विवरण त बयानपछि आउला।’
प्रहरीका अनुसार जीतेन्द्रको घर पर्वतको पैयुँ गाउँपालिका–५ मा हो। उनका आमा बुबा काम गर्न विदेश गएका छन्। जीतेन्द्र भकुण्डेमै मजदूरी गरेर बसेका थिए।
रनमायाको घर भने वालिङ नै हो। उनी छोरा र छोरीसहित भकुण्डेमा कोठा भाडामा लिएर बसेकी थिइन्। प्रहरीका अनुसार उनका श्रीमान घरमा छैनन्।
घटना भएको घरदेखि नजिकै प्रहरी चौकी छ। घटना हुने बित्तिकै थाहा पाएकाले अभियुक्त पक्राउ गर्न सकेको डिएसपी अधिकारीले बताए।
उनले भने, ‘जीतेन्द्र भाग्न आँटेको थियो, घटना हुनेबित्तिकै हामी पुग्यौं र समायौं।’