काठमाडौँ – प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष एमालेको अवरोधका बीच सरकारले बजेटसँग सम्बन्धित विधेयक अगाडि बढाएको छ । एमालेका सांसदहरू वेलमा पुगेर नाराबाजी गरिरहेकै बेला सोमबारको बैठकले विनियोजन विधेयक पारित गरेको छ ।
यसरी बजेटसँग सम्बन्धित विधेयक अगाडि बढाउनु सरकारको बाध्यता रहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । उनले सरकारले खर्च गर्न अवस्थासमेत नरहेकाले विनियोजन विधेयक अवरोधका बीच अघि बढाउनुपरेको बताए । उनले एमालेसँग वार्ता पनि भइरहको जानकारी दिए । ‘हामी वार्ता, संवादलाई निरन्तरता पनि दिइरहेका छौँ । बजेट लामो समयसम्म रोकिराख्यो भने सबै कुरा ठप्प हुने भएको हुनाले यसलाई सँगसँगै लैजानुपर्ने पनि हाम्रो बाध्यता छ,’ प्रतिनिधिसभामा विनियोजन विधेयक पारित भएपछि मन्त्री शर्माले भने, ‘प्रतिपक्षलाई हामी मिलाएर वार्ता, संवादबाट राष्ट्रिय एकता कायम गरेर जाने सरकारको नीति छ ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पछिल्लो समय दुई पटक बालकोट पुगेर छलफल गरेका छन् । त्यो वार्ताबारे मन्त्री शर्माले भने, ‘प्रतिपक्षसँग पुरै सौहार्दपूर्ण वातावरण बनाउने हो । निरन्तर वार्ता गर्ने हो । सर्वदलीय बैठक (सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको) भएको यहाँहरूलाई थाहा छ । कानूनमन्त्रीले निरन्तर वार्ता गरेको पनि यहाँहरूलाई थाहा छ ।’ संसद्को अवरोध हटाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि पहल गरिरहेको मन्त्री शर्माको भनाइ थियो ।
आफ्नो नेतृत्वको सरकारले ल्याएका विकासका परियोजना काटेको भनेर एमालेले वर्तमान सरकारलाई आरोप लगाउँदै आएको छ । त्यसबारे मन्त्री शर्माको जवाफ थियो, ‘कुनैपनि योजना काटेको पनि छैन । रोकेको पनि छैन । पूर्वाग्रही हामी छैनौं । पूर्वाग्रही छन् कि भनेर उहाँहरूलाई शंका लागेको होला, उहाँहरूले सबै योजना देखेपछि होइन रहेछ भन्नुहुन्छ होला ।’ त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री कार्कीले संसद्मा भएको अवरोधलाई हटाउनका लागि आफूले प्रमुख प्रतिपक्षी दलका नेतासँग संवाद गरिरहेको जानकारी दिए । सरकारलाई प्रभावकारी रुपले चलाउने कर्तव्य सरकार र प्रतिपक्षी दुवैको भएको भन्दै मन्त्री कार्कीले एमालेबाट संसद् खुलाउने भूमिकाको अपेक्षा गरेको बताए । ‘संसद्लाई सुचारु गर्नका निम्ति मैले प्रमुख प्रतिपक्षी दलका नेतासँग संवाद गरिराखेको छु । आज संसद् सुचारु रुपले चल्ला भन्ने आशा लिएको थिएँ र म अहिलेपनि आशावादी छु । संसद् सुचारु रुपले चल्नुपर्दछ,’ उनले भने, ‘संसद्लाई प्रभावकारी रुपले चलाउने कर्तव्य सरकार पक्ष र विपक्ष दुवैको हो । त्यो कर्तव्य सरकारको तर्फबाट जिम्मेवारीताका साथ बहन भएको छ । एमालेजस्तो अनुभवी प्रतिपक्षीबाट पनि हामी त्यसै किसिमको भूमिकाको अपेक्षा गरेका छौं ।’
एमाले नेतृत्वको सरकारले ल्याएका महत्वपूर्ण विधेयक उसकै अवरोधका कारण त्यो सही नभएको पनि मन्त्री कार्कीको भनाइ थियो । ‘विगतकै सरकारले ल्याएका धेरै महत्वपूर्ण विधेयक छन् ती विधेयकहरूलाई रोक्ने काम जसरी भइरहेको छ । यो आफैंमा अनौठो छ ।’