बैतडी – महाकाली नदीमा पानीको बहाव बढेको छ । लगातारको वर्षाले गर्दा नदीले खतराको सतह पार गरेको छ । दार्चुलाको दत्तुमा राखिएको जलमापन केन्द्रमा पानीले खतराको सतह पार गरेको हो ।
जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले महाकाली नदीमा बाढीले खतराको सतह पार गरेको सूचना आएको बताए । ‘तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेका छौं,’ उनले भने ।
खास गरी दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका महाकाली किनार क्षेत्रका बासिन्दाले सचेतना अपनाउनुपर्ने उनको भनाइ छ । प्रशासनले नदीछेउछाउ नजान स्थानीयलाई आग्रह गरेको छ ।