
काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पर्यटन व्यवसायीहरुको भावना अनुरुप पर्यटन उद्योगलाई चलायमान बनाउन सरकार लागिपरेको बताउनुभएको छ ।
होटल संघ नेपालको ४७ औं वार्षिक साधारणसभाको अवसरमा हिजाे शुक्रबार काठमाण्डाैमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री ढकालले काेराेनाबाट सबैभन्दा धेरै प्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकार गम्भीर रहेको बताउनुभएकाे हाे । सरकारले होटल व्यवसायी आफैले बनाएको स्वास्थ्य मापदण्डलाई मन्त्रिपरिषदबाट पारित गराइ यस क्षेत्रलाई चलायमान बनाउन सहयोगी बनेको उहाँले बताउनुभयो ।
पर्यटन क्षेत्रको विकासका लागि आगामी नीति तथा कार्यक्रमबाट सम्बोधन गरिने बताउँदै उहाँले के कस्ता कार्यक्रम समावेस गर्नुपर्छ सुझाव दिन व्यवसायीहरुसँग आग्रह पनि गर्नुभयो । मन्त्री ढकालले व्यवसायीको सुझाव अनुसार नै कार्यक्रमहरु ल्याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।कार्यक्रममा होटल संघ नेपालकी अध्यक्ष सृजना राणाले आन्तरिक पर्यटन मार्फत अर्थतन्त्र चलायमान बनाउनुपर्नेमा जोड दिनुभयो । अन्तर्राष्ट्रिय पर्यटन आगमन पूर्ण अवस्थामा नफर्किएसम्म होटल उद्योगलाई चलायमान बनाउन आन्तरिक पर्यटनलाई प्राथमिकतामा राखी सरकारले अल्पकालीन र दीर्घकालीन रणनीति तर्जुमा गर्न माग गर्नुभयो ।
कोराेना रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउनका कारण पर्यटन छेत्र लामो समय बन्द हुन पुग्यो । अझै पनि पर्यटन क्षेत्र पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । सरकारले पर्यटन व्यवसायीका लागि पुनर्कर्जा र व्यवसाय निरन्तरता कर्जा उपलब्ध गराए पनि सबै व्यवसायीले प्राप्त गर्न नसकेको गुनासो व्यवसायीहरुको छ ।